रोशन दिप – बागमती प्रदेशको राजधानी हेटौडा उपमहानगरपालिका वडा – १७ ठूलो गङ्गटे स्थित अङ्गारेश्वर धार्मिक तथा पर्यटन स्थलमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ ।

अङ्गारेश्वर धार्मिक तथा पर्यटन स्थल, अङ्गारेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता समिति, अङ्गारेश्वर टोल विकास संस्था र अङ्गारेश्वर दूग्ध उत्पादक सहकारी संस्था लि। को संयुक्त आयोजनामा माघ ३० देखि फागुन ७ गते सम्म हुन लागेको हो ।

शनिवार गरिएको पत्रकार सम्मेलन मार्फत मूल आयोजक समितिका संयोजक कृष्णदेव भण्डारीले अङ्गारेश्वर मन्दिर परिसरमा ३० गते विहान ७ बजे कलश यात्रा गरि, त्यसपछि दिउँसो १ बजे उद्घाटन गरिने बताए।

पण्डित बद्रीविशाल शास्ती र पण्डित दिनेश काफ्ले शास्त्रीले कथा वाचन गर्ने महायज्ञबाट संकलीत रकम मन्दिर भित्र १० फिट अग्लो आधारस्तम्भमा १० फिट अग्लो महादेवको ध्यानावस्थाको मूर्ति स्थापना गर्ने , मन्दिर परिसरको सभाहललाई स्थरोन्नती गर्ने, मन्दिरको जग्गामा घेराबारा (पर्खाल) निर्माण गर्ने उद्देश्यले गर्न लागीएको जानकारी गराए ।

उनका अनुसार करिब २ हजार भन्दा माथी भक्तजनहरुको उपस्थिति रहने भनिएको महायज्ञ सम्पन्न गर्नका लागी विभिन्न उपसमिति गठन समेत गरिएको छ। सहसंयोजक तथा प्रसाद व्यवस्थापनमा मिनप्रसाद दहाल, अर्थ समितिमा धर्मराज अर्याल, प्रचार समितिमा चुडामणि रुपाखेती, पुजा समितिमा केशव भुजेल, अतिथि सत्कार तथा सम्मान समितिमाः माया राना, सरसफाइ समितिमा ॐ प्रसाद अधिकारी र सामान खरिद समितिमा शमशेर पुडासैनीलाई संयोजक तोकिएको उनले बताए ।

सनातन धर्म र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले गर्न लागिएको महायज्ञको उद्घाटनमा मकवानपुर क्षेत्र नम्वर १ बाट निर्वाचित सांसद् दीपक बहादुर सिंह लगायत विभिन्न विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहने समेत जानकारी दिइएको छ ।