चितवन । ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रहरी प्रमुख डिएसपी ईन्द्र बहादुर राना मंसिर महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी भएका छन्।
प्रहरीको जिम्मेवारीमा रहेर सुम्पिएको जिम्मेवारीलाई लगनशीलता, ईमान्दारिताका साथ विभिन्न अपराधिक घटनाहरुको अनुसन्धान गर्न र अपराधमा संलग्नहरुलाई पक्राउ गर्न सफल भएको भन्दै रानालाई सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषण गरिएको छ ।

बागमती प्रदेश प्रहरी प्रमुख प्रकाशजङ्ग कार्कीद्धारा हस्ताक्षर गरिएको पत्रमा उनलाई २०७८ साल मंसिर महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरिएको हो ।

 

यस्तो लेखिएको छ पत्रमा

ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडी चितवन दरबन्दीका (कम्प्युटर कोड-४५२५६१, संकेत नं. C.००१०००७४) प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले आफुलाई सुम्पिएको जिम्मेवारी लगनशीलता, ईमान्दारिताका साथ अनुशासित एवं उत्कृष्ट ढंगबाट सम्पादन गर्दै मिति २०७८।०७।२७ गते जिल्ला चितवन रत्ननगर नगरपालिका वडा नं.३ स्थितमा लागू औषध संचय गरी राखेको भन्ने सुचनाका आधारमा खानतलासी गरी प्रतिबन्धित लागु औषध चरेश १४५.८३३ किलोग्राम सहित ३ जना अभियुक्तलाई पक्राउ गरेको, मिति २०७८।०८।०७ गते कालिका नगरपालिका वडा न. ९ स्थित कर्तव्य गरि मारिएको घटनामा संलग्न प्रतिवादीलाई पक्राउ गर्न सफल भएको, मिति २०७४/०७/०८ गते रत्ननगर नगरपालिका वडा न.०६ स्थित सौराहा राष्ट्रिय निकुञ्जको कार्यालयमा रहेको कम्प्युटर लगायतका सामानहरु चोरी भएको घटनामा संलग्नलाई पक्राउ गर्न सफल भएको, मिति २०७४।०५।२५ गते जिल्ला चितवन रत्ननगर नगरपालिका १ स्थितमा ज्यान मार्ने मनसायले भएको आक्रमणको घटनामा संलग्न फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको, मिति २०७८०८।२० गते जिल्ला चितवन कालिका नगरपालिका स्थित रहेका नदीनालाहरुबाट नदीजन्य पदार्थ अवैध रुपमा उत्खनन तथा ओसारपसार संलग्न ८ वटा सवारी साधनहरुलाई नियन्त्रणमा लिई कारवाहीको दायरामा ल्याएको साथै मिति २०७४।०८।१० गते देखी मिति २०७४।०८।१३ गते सम्म जिल्ला चितवन रत्ननगर नगरपालिका-६ सौराहा स्थित नेकपा एमालेको १० औं महाधिवेशन बन्दसत्रमा प्रभावकारी रूपमा प्रहरी परिचालन गरी त्रुटि रहित ढगंबाट भरपर्दो सुरक्षा व्यवस्था कायम गरे लागायतका कार्यहरुमा उत्कृष्ट कार्यसम्पादन गरेको हुँदा निजबाट सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै यसको निरन्तरताका साथै अन्य प्रहरी कर्मचारीहरु समेतलाई प्रोत्साहित गर्न निज प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानालाई यस कार्यालयबाट २०७८ साल मंसिर महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी (BEST PROVINCE POLICE OF THE MONTH) घोषणा गरिएको छ।