हेटौंडा / निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मकवानपुरले यस वर्ष एसईई २०८० मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा विषयगत शिक्षकहरूलाई सम्मान गरेको छ।
शुक्रबार आयोजित कार्यक्रममा ४.० जीपीए प्राप्त गरी जिल्लामै सर्वोत्कृष्ट नतिजा हासिल गरेकी बालजागृती इङ्गलिस सेकेण्डरी बोर्डिङ स्कुलकी छात्रा रितिका छत्कुली सहित जिल्लाका ३७ विद्यालयका २ सय ५७ जना विद्यार्थीहरूलाई सम्मान गरिएको हो ।
छात्रतर्फ ३.९५ जीपीए नतिजा हासिल गरेका सरस्वती विद्या मन्दिर इङ्लिस बोर्डिङ्ग स्कूल पालुङ्गका लखिन्द्र मुखिया विनलाई विशेष सम्मान गरिएको थियो।
त्यस्तैगरि बालजागृती बोर्डिङका ३४ जना, आधुनिक राष्ट्रिय माविका ३० जना, नवोदय शिशु सदनका २२ जना, भुटान देवी माविका १५ जना, ज्ञानदिप माविका १५ जना, हेटौँडा एकेडेमीका ८ जना लगायत अन्य विद्यालयका विद्यार्थीहरू समेत सम्मनित भएका हुन् ।
कार्यक्रममा जानकारी गराए अनुसार यस वर्षको एसईई परीक्षामा मकवानपुर जिल्लाबाट ५ हजा ९ सय २५ विद्यार्थी सहभागी भएका हुन् । जस मध्य २ हजार १ सय ६१ विद्यार्थीहरुले ग्रेड प्राप्त गरेका छन् ।३ हजा ७ सय ४६ विद्यार्थी एनजी अर्थात नन ग्रेडमा परेका छन् ।
प्याब्सन मकवानपुरका अध्यक्ष बिनोद सुवेदीको सभाध्यक्षता र हेटौँडा उपमहानगरकी मेयर कुमारी लामाको प्रमुख आतिथ्यतामा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्याब्सन बागमती प्रदेशका अध्यक्ष, राष्ट्रिय परीक्षा बोर्डका प्रतिनिधि, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख लगायत विभिन्न शैक्षिक क्षेत्रका प्रतिनिधिहरू लगायतले मन्तव्य राखेका थिए ।
प्रतिक्रिया दिनुहोस्