रेलिगेसन भइसकेको टोली ब्रिगेड ब्वाइज क्लबसँग शुक्रबार थ्री स्टार क्लबले १–१ गोलको बराबरी खेल्दै सहिद स्मारक ‘ए’ डिभिजन लिग समापन गर्दा अर्को खेलमा संकटा युथ क्लब जावलाखेल युथ क्लबसँग हारबाट जोगिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा जावलाखेलले पहिलो हाफमा लिएको अग्रतालाई रोक्दै संकटाले हारको संकट टारेको हो। लिगको मध्यतिर बलियो देखिएको संकटा पछिल्ला खेलमा भने सन्तुलित प्रदर्शनबाट चुकेको थियो।

प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुआती अग्रता जोगाउन नसक्दा जावलाखेलले अन्तिम खेलमा सुखद अन्त्य गर्न सकेन। सुरुआती अग्रता लिने क्रममा संकटामाथि दबाब दिएर खेलेको जावलाखेल युथ क्लबले १४औं मिनेटमा सुनील खड्काको गोलबाट अग्रता लिएको थियो।

काउन्टरमा ओन्गुना जुनियरले सिक्स यार्ड बक्सनजिकै उपलब्ध गराएको पासमा सुनीलले आकर्षक गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर, खेलको ६१औं मिनेटमा उत्तम राईले गोल गर्दै संकटालाई १–१ को बराबरीमा ल्याए। सुवास गुरुङको कर्नरमा उनले हेडरमार्फत गोल गरे। त्यसपछि दुवै टोली स्पष्ट अंक जोड्ने लक्ष्यसहित आक्रामक खेल खेले पनि सफल हुन सकेनन्।

यस बराबरीसँगै जावलाखेलले १३ खेलमा १४ अंक जोडेको छ। जावलाखेल दशौँ स्थानमा छ भने संकटाले १३ खेलमा १६ अंक जोडेर सिजनको अन्त्य गरेको छ। संकटा सातौं स्थानमा छ। लिगअन्तर्गत शुक्रबारै सम्पन्न दिनको अर्को खेलमा डोना थापाले इन्जुरी समयमा गरेको गोलबाट थ्री स्टारले ‘बी’ डिभिजनमा घटुवा भएको टोली ब्रिगेड ब्वाइजसँग बराबरी खेल्यो।

गोलरहित बराबरीमा सकिएको पहिलो हाफमा दुवै टोलीले गोलका लागि सुन्दर मौका बनाए पनि सदुपयोग गर्न चुकेका थिए। दोस्रो हाफमा आक्रामक रणनीतिका साथ मैदान उत्रिएका दुवै टोलीमध्ये ब्रिगेडले ५७औं मिनेटमा अग्रता लिन सफल भयो। प्रशान्त तामाङले गोल गर्दै टोलीलाई अग्रता दिलाए पनि इन्जुरी समयको पनि अन्तिम मिनेटसम्म सो अग्रता कायम राख्न नसक्दा ब्रिगेड अंक बाँड्न बाध्य बन्यो। यससँगै ब्रिगेडलाई सिजनको अन्तिम खेलमा सुखद अन्त्य गर्ने सुनौलो अवसर गुम्यो।

बराबरीसँगै थ्री स्टारले १३ खेलमा १९ अंक जोडेको छ। थ्री स्टारले छैटौं स्थानमा रहेर लिगको अन्त्य गर्दा ब्रिगेडले १३ खेलमा ८ अंक जोडेको छ। ब्रिगेड १३औं स्थानमा रह्यो। लिगमा शनिबार यो सिजनका अन्तिम खेल हुनेछन्। दिनको १ बजे दुई खेल हुनेछन् भने साढे ४ बजे एक खेल हुनेछ।

एन्फा कम्प्लेक्समा न्युरोड टिम (एनआरटी) र नेपाल पुलिसबीच खेल हुँदा दशरथ रंगशालामा त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङ्दी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। यस्तै लिगको अन्तिम खेल च्याम्पियन मच्छिन्द्र र विभागीय क्लब एपिएफबीच दशरथ रंगशालामा नै खेल हुनेछ। यस खेलपश्चात् यो सिजनको ‘ए’ डिभिजन लिगको समापन हुनेछ ।

यो समाचार नागरिक न्युज मा साभार छ