बारा । प्रहरीले अवैध चाँदीको गरगहनासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार जिल्ला मोतिहारी ढाका बस्ने २३ वर्षिय सुनिल गुप्ता रहेका छन् ।

आज बिहान विशेष सूचनाको आधारमा इलाका प्ररही कार्यालय सिमरा बाराबाट खटिएको प्रहरी टोलीले उनलाई जितपुर सिमरा उपमहानगरपालिका-१ स्थित नेपाल टेलिकम चोकबाट पक्राउ गरेको हो ।

वीरगंजबाट पथलैया तर्फ जाँदै गरेको ना.३३ प ८५२६ नम्बरको मोटरसाईकल रोकेर चेकजाँच गर्दा मोटरसाईकलको तेल ट्याङकीभित्र फल्स बटन बनाई भंसार छलेर लुकाएर ल्याईएको ११ के.जी. ५ सय ग्राम चाँदीको गरगहना फेला परेको प्रहरीले जनाएको छ । चाँदीको तयारी गहनामा पाउजु, बाला, चाबि रिङ, बुट्टी तथा कल्ली समेतका गहनाहरू फेला परेको प्रहरीको भनाई छ ।
अवैध चाँदीको गहनासहित पक्राउ परेका गुप्तालाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय, पथलैया बारामा पठाईएको जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता राजेश थापाले जानकारी दिए ।