सत्ता साझेदार दल माओवादी केन्द्रले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने औपचारिक निर्णय गरेको छ । आइतबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको पार्टीको बैठकले उक्त निर्णय गरेको नेता वर्षमान पुनले ईकान्तिपुरलाई जानकारी दिए ।

खुमलटारको बैठकपछि अध्यक्ष दाहाल प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफलका लागि बालुवाटार गएका छन् ।

आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ । गठबन्धन दलबीच औपचारिक समझदारी बनेमा प्रस्ताव आइतबारकै बैठकबाट पारित गर्ने र त्यसपछि दफावार छलफल गरेर सके तत्कालै, नसके सोमबार अनुमोदन गराउने तयारी प्रधानमन्त्रीले गरेका छन् ।

सत्ता साझेदार दलहरू आन्तरिक गठबन्धन र एमसीसी सम्झौता दुवै जोगाउने सहमतिमा पुगेका छन् । माओवादी र एकीकृत समाजवादीले सम्झौताका केही बुँदामा राखेका प्रश्नमा ‘व्याख्यात्मक घोषणा’ सहित संसद्बाट पारित गर्न उनीहरू सहमत भएका छन् । कुनै नाटकीय मोड नआएमा दुई वाम दलको आन्तरिक बैठकपछि आइतबार यो विषयमा गठबन्धनमा औपचारिक सहमति हुनेछ ।

यो समाचार कान्तिपुरबाट साभार गरिएके हो