नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ ले गठबन्धन अझै पनि क्लियर नभएको बताएका छन्। सोमबार कैलारी गाउँपालिकाको हसुलियामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै गठबन्धन अझै क्लियर नभएको बताएका हुन्।
कैलारी गाउँपालिकामा नेकपा माओवादीको भागमा अध्यक्ष र नेपाली कांग्रेसको भागमा उपाध्यक्ष आधिकारिक उम्मेदवारका रुपमा परेका थिए। तर, उपाध्यक्षमा माओवादी केन्द्रकै लक्ष्मी सत्गौवाले बागीका रुपमा उम्मेदवारी दिएकी थिइन्।
दहालले गठबन्धन क्लियर नभएको भन्दै बागीको रुपमा उठेकी गाउँपालिका उपाध्यक्ष सत्गौवालाई मतसमेत मागे। ‘हाम्रो पार्टीका अध्यक्षका उम्मेदवार लाजुराम चौधरी र उपाध्यक्षका उम्मेदवार लक्ष्मी सत्गौवालगायतको टिमलाई अत्याधिक बहुमतले विजयी गराउन विशेष अपिल गर्न चाहन्छु,’ दहालले भने,‘यो पालिकाको विकासका निम्ति उहाँहरुको टिमका साथसाथै म प्रचण्ड पनि तपाईहरुको साथमा रहने विश्वास दिलाउन चाहन्छु।’
धनगढीको चुनावी सभालाई सम्बोधन गर्न दहालसँगै प्रधानमन्त्र शेरबहादुर देउवा पनि आइतबार बेलुकीदेखि धनगढीमै छन्। प्रधानमन्त्री देउवा धनगढीमै रहेका बेला गठबन्धनका आधिकारिक नेपाली कांग्रेसका उपाध्यक्षका उम्मेदवारलाई मत माग्नुको साटो बागी उम्मेदवारलाई प्रचण्डले मत मागेपछि गठबन्धनमा कांग्रेसी कार्यकर्ताहरु असन्तुष्ट भएका छन्।
यो समाचार नागरिक न्युजबाट साभार गरिएको हो























प्रतिक्रिया दिनुहोस्