हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरको आयोजनामा तथा सिआन पुनस्र्थापना केन्द्रको व्यवस्थापनमा सञ्चालन भइरहेको लागुऔषध विरुद्धको ३ महिने अभियान अन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा विविध सचेतनामूलक, समन्वयात्मक तथा समुदाय केन्द्रित कार्यक्रमहरू सम्पन्न भएको छ ।
अभियान अन्तर्गत आयोजित पालिका स्तरीय समन्वय बैठक गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीको प्रमुख आतिथ्यमा गाउँपालिकाकी उपाध्यक्ष उमा कुमारी लामा र प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामाको विशेष आतिथ्यतामा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वडा पालिकाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो । प्रमुख प्रशासकीय अधिकृत लामाले स्थानीय तह लागुऔषध नियन्त्रण तथा न्यूनीकरणमा अग्रपंक्तिमा उभिनुपर्ने उल्लेख गरे । उनले लागुऔषध नियन्त्रण मार्गदर्शन २०७६ अनुसार पालिकास्तरीय समन्वय समिति तत्काल गठन गरी नीतिगत तथा कार्यक्रमगत रूपमा अभियानलाई संस्थागत गरिने प्रतिबद्धता व्यक्त गरे ।
गाउँपालिका अध्यक्ष पुडासैनीले लागुऔषध दुव्र्यसन सामाजिक, पारिवारिक तथा विकास प्रक्रियामै चुनौतीका रूपमा देखा परेको उल्लेख गर्दै यसको न्यूनीकरणका लागि आवश्यक बजेट विनियोजन, जनचेतनामूलक कार्यक्रम विस्तार, विद्यालय केन्द्रित अभियान, पुनस्र्थापना सहकार्य तथा दीर्घकालीन नीतिगत व्यवस्था निर्माणमा गाउँपालिकाले नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले स्थानीय सरकार, प्रशासन र पुनस्र्थापना केन्द्रबीचको सहकार्यलाई अझ सुदृढ बनाउँदै परिणाममुखी अभियान सञ्चालन गरिने स्पष्ट पारे ।
इन्द्रसरोवर गाउँपालिकाभित्रका श्री पन्चकन्या माध्यमिक विद्यालयमा विद्यालय सचेतना कार्यक्रमहरू समेत सञ्चालन गरिएको छ । विद्यार्थीहरूलाई लक्षित गरी लागुऔषध दुव्र्यसनको कारण, असर, कानुनी पक्ष, मानसिक स्वास्थ्य, जीवन सीप तथा “नाइ भन्न सक्ने क्षमता” विकाससम्बन्धी अन्तरक्रियात्मक अभिमुखीकरण प्रदान गरिएको थियो । कार्यक्रममा शिक्षकहरू, अभिभावक प्रतिनिधि, रिकभरिङ नेपाल प्रतिनिधि, नेपाल प्रहरीका प्रतिनिधि व्यक्तिहरू तथा सिआन पुनस्र्थापना केन्द्रका परामर्शदाताहरूको सक्रिय सहभागिता रहेको थियो ।
त्यसैगरी अभियानलाई दीर्घकालीन सन्देश प्रवाहसँग जोड्न गाउँपालिकाका मुख्य चोक तथा सार्वजनिक स्थलहरूमा सन्देशमूलक होर्डिङ बोर्ड स्थापना गरिएको छ। विद्यालय परिसर बाहिर धूम्रपान निषेधित क्षेत्र जनाउने बोर्डहरू राखिनुका साथै मुख्य बजार क्षेत्रहरूमा सन्देशमूलक पर्चा, स्टिकर तथा जनचेतनामूलक सामग्री वितरण कार्यक्रम समेत सञ्चालन गरिएको छ । समुदाय, विद्यालय, स्थानीय सरकार, प्रशासन तथा पुनस्र्थापना क्षेत्रबीचको बहुआयामिक सहकार्यमा सञ्चालित यो अभियानले इन्द्रसरोवर गाउँपालिकालाई लागुऔषध विरुद्ध सचेत, संगठित र जिम्मेवार समाज निर्माणतर्फ उन्मुख गराउने विश्वास लिइएको छ। अभियानले निकट भविष्यमा थप परिणाममुखी कार्यक्रमहरू विस्तार गर्दै लैजाने लक्ष्य समेत लिएको छ ।

















प्रतिक्रिया दिनुहोस्