स्थानीय तहको निर्वाचनका लागि रोल्पामा गठबन्धनका अनेक प्रयास विफल भएपछि मुख्य तीन दल नेपाली कांग्रेस, माओवादी केन्द्र र एमालेले प्रमुख र उपप्रमुखमा एक्लाएक्लै उम्मेदवारी दिने भएका छन्। निर्वाचनका लागि आइतबार आआफ्ना उम्मेदवारको टुंगो लगाएका मुख्य तीन दलले सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता गराउने भएका छन्। रोल्पामा १० स्थानीय तह छन्। अघिल्लो निर्वाचनमा माओवादीले ७, एमालेले २ र कांग्रेसले १ पालिकामा विजय हात पारेका थिए।
जिल्लाको एकमात्र रोल्पा नगरपालिकाको उम्मेदवारमा प्रमुख तीन दलले नयाँ अनुहार सारेका छन्। नगर प्रमुखमा माओवादी केन्द्रले जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्ती, नेपाली कांग्रेसले सचिव शेरबहादुर थापा र एमालेले नगर सभापति घनश्याम आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेका छन्। नगर उपप्रमुखको उम्मेदवारमा माओवादीले गीता आचार्य, कांग्रेसले पुष्पा श्रेष्ठ र एमालेले कृष्णीकुमारी गौतमलाई अघि सारेका छन्।
त्यस्तै माओवादी केन्द्रले सुनिलस्मृति गाउँपालिकाको अध्यक्षमा मनिराम बुढाथोकी र उपाध्यक्षमा कुमारी थापालाई उम्मेदवार बनाउने भएको छ। यस पालिकाको अध्यक्षमा कांग्रेसले गञ्जबहादुर क्षेत्री र उपाध्यक्षमा तेजकुमारी बिष्टलाई टिकट दिएको छ। त्यस्तै प्रमुख प्रतिपक्षी एमालेले अध्यक्षमा खिमचन्द्र पुन र उपाध्यक्षमा तारा सेनलाई उम्मेदवार बनाउने भएको छ।
माओवादीले लुंग्री गाउँपालिकाको अध्यक्षमा भरत थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। उसले यस पालिकामा उपाध्यक्ष चयन गर्न बाँकी छ। कांग्रेसले अध्यक्षमा जनक खड्का र उपाध्यक्षमा मुन्नादेवी रोका क्षेत्रीलाई उम्मेदवार बनाउने निर्णय गर्दा एमालेले अध्यक्ष वीरबहादुर खड्का र उपाध्यक्ष जुकमती बस्नेतलाई अघि सारेको छ।
सुनछहरी गाउँपालिकामा माओवादीले अध्यक्षमा धनबहादुर पुन र उपाध्यक्षमा ननकला घर्ती, कांग्रेसले अध्यक्षमा कोमबहादुर बुढामगर र उपाध्यक्षमा सोनी बुढाथोकी तथा एमालेले अध्यक्षमा जयप्रकाश बुढामगर र उपाध्यक्षमा पूर्मला खत्रीलाई उम्मेदवार बनाउने निर्णय गरेका छन्।
थबाङ गाउँपालिकामा माओवादीले अध्यक्षमा ऋषिकेशव बुढामगर र उपाध्यक्ष शर्मिला बुढालाई उम्मेदवार बनाउने निर्णय गर्दा कांग्रसले अध्यक्षमा खरिलाल डाँगी र उपाध्यक्षमा वरमाया घर्तीलाई उठाउने भएको छ। यस पालिकामा एमालेले अध्यक्षमा रवीन्द्र रोकामगर र उपाध्यक्षमा शान्ति रोकामगरलाई टिकट दिएको छ।
परिवर्तन गाउँपालिकामा माओवादीले अध्यक्षमा शुकबहादुर बुढामगर र उपाध्यक्षमा कलादेवी, कांग्रेसले अध्यक्षमा विश्वकुमार चन्द र उपाध्यक्षमा सपना घर्ती तथा एमालेले अध्यक्षमा गंगाराम बुढा र उपाध्यक्षमा सपना रोकालाई उम्मेदवार बनाउने भएका छन्।
माडी गाउँपालिकामा माओवादीले अध्यक्षमा अमरसिंह घर्तीमगर र उपाध्यक्षमा जयपुरी घर्तीलाई टिकट दिएको छ। कांग्रेसले अध्यक्षमा गोपाल घर्ती र उपाध्यक्षमा गोठी खत्रीलाई उम्मेदवार बनाउने भएको छ। यो पालिकाको अध्यक्षमा एमालेले विजयकुमार घर्तीमगर र उपाध्यक्षमा अमृताकुमारी घर्तीमगरलाई अगाडि सारेको छ।
गंगादेव गाउँपालिकाको अध्यक्षमा वीरबहादुर खत्रीलाई उम्मेदवार तोकेको माओवादीले उपाध्यक्ष भने अझै टुंगो लगाएको छैन। सोमबार बिहानसम्म उपाध्यक्षको टुंगो लाग्ने एक नेताले बताए। गंगादेवमा कांग्रेसले अध्यक्षमा हरिबहादुर पुन र उपाध्यक्षमा अमृता केसीलाई उम्मेदवार बनाउँदा एमालेले अध्यक्षमा रोशनकुमार वली र उपाध्यक्षमा निर्मलाकुमारी वली डाँगीलाई अघि सारेको छ।
माओवादीले रुन्टीगढी गाउँपालिकाको अध्यक्षमा गोविन्द पुनमगर र उपाध्यक्षमा कौशिला जिसी, कांग्रेसले अध्यक्षमा जनक पुन र उपाध्यक्षमा सरिता केसी तथा एमालेले अध्यक्षमा बालाराम बुढा र उपाध्यक्षमा हस्तमाली बाँठामगरलाई उम्मेदवार बनाउने निर्णय गरेका छन्।
त्यस्तै त्रिवेणी गाउँपालिकामा माओवादीले अध्यक्षमा रेशम पुन र उपाध्यक्षमा भागीसरा खत्रीलाई उमेद्वार बनाउँदा कांग्रेसले अध्यक्षमा राधिका हमाल र उपाध्यक्षमा लेखमणि डाँगी र एमालेले अध्यक्षमा कर्णबहादुर बाँठामगर र उपाध्यक्षमा जानकी बुढालाई अगाडि सारेका छन्। माओवादीले गंगादेव गाउँपालिकाको अध्यक्षमा वीरबहादुर खत्री र रुन्टीगढीको अध्यक्षमा गोविन्द पुनमगरबाहेक अरू सबै पालिकाको अध्यक्ष र उपाध्यक्षमा नयाँ अनुहार ल्याएको छ।
गंगादेव गाउँपालिकामा अध्यक्षका तीनैजना उम्मेदवार यसअघिको निर्वाचनका प्रतिस्पर्धि हुन्। यसपालिकामा यसअघि माओवादीका वीरबहादुरले जितेका थिए। माडीमा कांग्रेसबाट अध्यक्षको उम्मेदवार बन्न लागेका गोपाल घर्ती अघिल्लो निर्वाचनमा सोही पदमा पराजित भएका थिए। रुन्टीगढीमा पालिकामा अध्यक्षमा एमालेबाट टिकट पाएका वालाराम बुढा यसअघि अध्यक्षमा विजयी भएका थिए।
रुन्टीगढीमा कांग्रेसबाट उपाध्यक्षको उम्मेदवार बन्न लागेकी सरिता पुन अघिल्लो निर्वाचनमा उपाध्यक्षमै पराजित पात्र हुन। त्रिवेणी गाउँपालिकामा कांग्रेसबाट अध्यक्षको उम्मेदवार बन्न लागेकी गायिका राधिका हमाल अघिल्लो निर्वाचनमा उपाध्यक्षमा पराजित भएकी थिइन् भने उपाध्यक्षका उम्मेदवार लेखमणी डाँगी वडा नम्बर ५ का वडा अध्यक्ष थिए।
राजनीतिक दलहरू जनताप्रति उत्तरदायी नभएका कारण ५ वर्षमा हुन थालेको स्थानीय तह निर्वाचनमा रोल्पामा त्यति रौनक देखिएको छैन। मतदान गर्ने दिन आउन १८ दिन बाँकी रहँदासम्म पनि जिल्लामा चुनावी वातावरण तातेको छैन। लोकतन्त्रको सौन्दर्य निर्वाचन भए पनि यसप्रति जनतामा उत्साह देखिएको छैन।
यो समाचार नागरिक न्युजबाट साभार गरिएको हो



















प्रतिक्रिया दिनुहोस्