हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको टोल विकास नगर समन्वय समितिको विश्व वातावरण दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भान्सानै औषधालय कार्यक्रमको आयोजना गरिएको छ । आइतबार हेटौंडा–४ वडा कार्यालयको आयोजनामा तथा टोल विकास संस्थाको समन्वयमा भएको कार्यक्रममा दैनिक जीवनमा प्रयोग हुने खाद्य सामग्री, जडीबुटी तथा प्राकृतिक खानपानको महत्वबारे प्रशिक्षण दिइएको छ ।

“भान्सा नै औषधालय” अभियानका प्रवद्र्धक राष्ट्रिय प्रशिक्षक रोमलाल गिरीले दैनिक जीवनमा प्रयोग हुने खाद्य सामग्री, जडीबुटी तथा प्राकृतिक खानपानको महत्वबारे प्रशिक्षण तथा सहजीकरण दिएर आधुनिक जीवनशैलीका कारण बढ्दै गइरहेका नसर्ने रोगहरूलाई नियन्त्रण गर्न स्वस्थ खानपान, स्थानीय उत्पादनको प्रयोग र प्राकृतिक जीवनशैली आवश्यक रहेको बताएका छन् । उनले मानिसहरुका लागि “भान्सा नै पहिलो औषधालय” भएको धारणा राखेका छन् ।

वडाध्यक्ष सिग्देलले स्वस्थ नागरिक निर्माणका लागि यस्ता जनचेतनामूलक कार्यक्रम अत्यन्त प्रभावकारी हुने बताउँदै वातावरण संरक्षण र नागरिक स्वास्थ्य एकअर्कासँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गरे । स्वस्थ खानपान, सरसफाइ र हरियाली प्रवद्र्धनलाई स्थानीय तहले प्राथमिकताका साथ अगाडि बढाइरहेको उनको भनाई थियो ।

संस्थाका अध्यक्ष अधिकारीले विश्व वातावरण दिवसलाई केवल औपचारिक कार्यक्रममा सीमित नराखी व्यवहारिक परिवर्तनसँग जोड्न आवश्यक रहेको बताए । वातावरण संरक्षण, सरसफाइ, हरियाली प्रवद्र्धन र स्वस्थ जीवनशैली निर्माणमा टोल विकास संस्थाहरूको महत्वपूर्ण भूमिका रहेको उनल उल्लेख गरेका छन् । “स्वस्थ भान्सा, स्वस्थ परिवार र स्वस्थ समाज निर्माणको आधार हो,” उनले भने । कार्यक्रममा नगरभित्रका विभिन्न वडाका टोल विकास संस्थाका पदाधिकारी, सामाजिक अभियन्तासहित ४ सय जनाको सहभागिता रहेको थियो ।

रातो समाचार संवाददाता
थप जानकारी