हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा सर्लाही जिल्लाको बागमती युथ क्लब पुगेको छ । बुधबार बागमती–४,स्थित झुरझुरेको सहिद स्मृति रंगशालामा भएको पहिलो सेमीफाइनल खेलमा ललितपूरको फ्रेण्डस क्लबलाई पेनाल्टीमा ५–४ गोलले हराउँदै फाइनलको यात्रा तय गरेको हो । खेलको निर्धारित समय एक/एक गोलको बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

फ्रेण्डस क्लबको तर्फबाट पहिलो हाफको ११ औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाए । खेलको ८५ औं मिनेटमा बागमती युथ क्लब सर्लाहीका लागि आयुष मगरले गोल गर्दै खेललाई एक/एक गोलको बराबरीको स्थितिमा पुर्याए । त्यसपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

बागमतीका लागि अनिष महर्जन, भुपल मगर, आयुष मगर, अमन लामा र युवराज ढकालले पेनाल्टी मार्फत गोल गरे । फ्रेन्ड्सका लागि सुजन चौधरी, राजेश दाहाल, विवेक मगर र रुपेश केसीले गोल गरे भने प्रशान्त लक्षमको प्रहार बाहिरियो । प्लेयर अफ दि म्याच बागमतीका आयुष मगर घोषित भए । उनले १० हजार प्राप्त गरे । अब सर्लाहीले उपाधिका लागि चित्लाङ फुटबल क्लब र सिमराको नवजन जागृति क्लब मध्येको विजेता टिमसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र विधागत उत्कृष्टहरुले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।