जिल्लाको गाईघाटस्थित त्रियुगा नगरपालिकाका करार र अस्थायी कर्मचारीले विगत पाँच दिनदेखि नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेर काम अवरुद्ध गरेका छन् । नगरपालिकाले म्याद थप नगरे र एक साताअघि निष्कासन गरेपछि पुनःबहालीको माग गर्दै उनीहरुले नगरपालिकाको मुख्य गेटमा धर्ना दिएका हुन् । आन्दोलनरत कर्मचारीले बिहीबार र शुक्रबार मुख्य गेटमा ताला लगाएपछि नगरपालिकाका कोही पनि पदाधिकारी कार्यालयमा पस्न सकेनन् । जसका कारण कार्यालयको कामका लागि नगरपालिकाको कार्यालयमा आउनेहरु काम नगरी घर फर्किनु परेको छ । ‘हामीले एक सातादेखि आफ्ना मागप्रति मेयर वसन्तकुमार बस्नेतको ध्यानाकर्षण गराउँदै आएका छौं, विना कारण निष्कासन गरिएको र पुनर्बहाली नभएसम्म आन्दोलन जारी राख्छौं’, आन्दोलनरत कर्मचारीका संयोजक कृपाराम चौधरीले भने । त्रियुगा नगरपालिकाले असार १ गतेदेखि लागू हुने गरी नगरपालिकाले म्याद थप नगरेपछि ६० अस्थायी, करार र दैनिक ज्यालादारी कर्मचारीलाई स्वतः निष्कासन गरिएको जनाएको छ ।मेयर बस्नेतले करार र अस्थायी कर्मचारीको म्याद कुनै पूर्वाग्रहविना नबढाइएको बताए । यति ठूलो संख्यामा कर्मचारीलाई तलब दिँदा नगरपालिकाले ठूलो आर्थिक भार बेहोर्नुपरेको थियो । उनले नगरपालिकाले निर्णय गरेकोमा अब पछि हट्ने अवस्था नरहेको बताए । आन्दोलित कर्मचारीहरुले विना वैधानिक कारण कामबाट निष्कासन गरेकाले पुनःबहाली नभएसम्म नगरपालिकाको काममा बाधा पु¥याउँदै आन्दोलन, तालाबन्दी र धर्ना जारी राख्ने बताउँदै आएका छन् । —रासस
























प्रतिक्रिया दिनुहोस्