हेटौंडा । हेटौंडा–८,स्थित कमाने क्रिकेट क्लबको आयोजनामा सुरु भएको चौंथो संस्करणको कमाने प्रिमियर लिग क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा कमाने लायन्स क्लबले विजयी सुरुवात गरेको छ । शनिबार भएको दोस्रो खेलमा कमाने रोयल्सलाई ८ विकेटले कमाने लायन्सले हराएको छ ।

पहिलो व्याटिङ गरेको कमाने रोयल्सले १७ ओभर ३ बलमा ९८ रन बनाउँदै अल आउट हुन पुग्यो । कमाने लायन्स क्लबबाट विवेक कार्कीले सर्वाधिक ३९ रन बनाएका थिए । निश्चल रोक्काले २७ रन र सुरज भट्टराईले १२ रन बनाएका थिए । बलिङतर्फ कमाने लायन्सबाट किशोर खत्रीले ३ विकेट, समिर चौलागाईं र अरुण दहालले समान २/२ विकेट लिएका थिए ।

९८ रनको लक्ष्य पछ्याएको कमाने लायन्सले १० ओभर ३ बलमा २ विकेट गुमाउँदै १ सय ३ रन बनाएको थियो । कमाने लायन्सबाट सुभ कंसकारले ४९ रन, रमेश लुईंटेलले २१ रन र समिर चौलागाईंले १८ रन बनाएका थिए । कमाने रोयल्सबाट प्रेम क्षेत्रीले मात्र २ विकेट लिएका थिए । खेलको म्यान अफ द म्याच सुभ कंसकार घोषित भएका छन् । भोलि आइतबार बिहान ८ बजे पहिलो खेलमा कमाने राइर्डस र कमाने एक्सपर्ट भिजनबीच प्रतिस्पर्धा हुनेछ । यस्तै दोस्रो खेलमा कमाने थर्ड आइ जापान समुराई र कमाने लायन्सबीच प्रतिस्पर्धा हुनेछ ।

हेटौंडा–४,स्थित हेटौंडा स्कूल अफ म्यानेजमेन्टको मुख्य प्रयोजमा तथा ८ नम्बर वडा कार्यालयको प्रयोजनमा प्रतियोगिता सुरु भएको हो । लिग प्रणालीमा सञ्चालित प्रतियोगितामा ६ वटा टिमहरुको सहभागिता रहेको छ ।

प्रतियोगिताको उपाधि विजेता टिमले एकलाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि ५/५ हजार रुपैयाँको नगद पुरस्कारको व्यवस्था गरिएको छ । यस्तै, म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीले प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई ४० हजार रुपैयाँ बराबरको क्रिकेट किट दिन घोषणा गरेका छन् ।

रातो समाचार संवाददाता
थप जानकारी