हेटौंडा । छिमेकी मुलुक भारतमा हुन लागेको अन्तर्राष्ट्रिय फुलकन्ट्याक्ट क्योकुशिन कराँते प्रतियोगितामा सहभागी हुने मकवानपुरे खेलाडीलाई विदाई गरिएको छ । बिहीबार मकवानपुर जिल्ला विकास समितिको कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै भारतको आसामको गुहाटीमा हुन लागेको कराँते प्रतियोगितामा सहभागी हुने ६ जना खेलाडी र २ जना रेफ्रि सहित ८ जनाको विदाई गरिएको हो ।
मकवानपुर जिल्ला क्योकुशिन कराँते संघ (बालकुमारी आइकेओ) र हेटौंडा-१८ हर्नामाडीस्थित क्योकुशिन कराँते संघले संयुक्त रुपम खेलाडीलाई विदाई गरेको थियो । आइकेओ क्योकुशिन वर्ल्ड वे इन्डिया तथा क्योकुशिन काइ कान कराँते संघ असमको संयुक्त आयोजनामा शनिबार र आइतबार प्रतियोगिता हुनेछ ।
प्रतियोगितामा ५० केजीदेखि खुल्ला तौल समूहका खेलाडीको सहभागिता रहने छ । प्रतियोगियामा छिमेकी मुलुक भारतसहित नेपाल,बंगलादेश भुटान, म्यानमार, श्रीलंका र अफगानिस्तान देशहरुबाट १ हजारको हाराहारीमा खेलाडीहरु सहभागिता रहने बताइएको छ ।
क्युकोशिन कराते संघका अध्यक्ष बुद्धिनाथ न्यौपानेको सभाध्यक्षमा तथा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तानको प्रमुख आतिथ्यमा विदाइ गरेको थियो । विदाइ कार्यक्रममा जिल्ला खेलकुदका पूर्वध्यक्ष सानु लाम दोङ, सुदर्शन खतिवडा र मकवानपुरका प्रमुख प्रशिक्षक विष्णु श्रेष्ठको उपस्थिति रहेको थियो ।















प्रतिक्रिया दिनुहोस्