राक्सिराङ गाउँपालिकाका ४२ वर्षीय हरि (नाम परिवर्तित) एक वर्षदेखि भीमफेदी कारागारमा कैदी जीवन बिताइरहेका छन्।

गाँजासहित प्रक्राउ परेका उनी अझै २ वर्ष कारागारमा बस्न बाँकी छ। बाँकी २ वर्ष कटाउन उनलाई जीवनको ४२ वर्ष कटाउनभन्दा धेरै गाह्रो र लामो लागेको छ।

उनलाई अझै पनि एक वर्षअघिको त्यो घटनाले सताउँछ, जसले उनलाई कारागारको चार भित्ताभित्र कैद हुन पुर्‍यायो। सामान्य लेखपढ पनि गर्न नजानेका उनी सवारीसाधनमा ढुंगाबालुवा लोड गर्ने काम गर्ने गर्थे।

दुई छोरा र श्रीमतीलाई प्रजाले ढुंगाबालुवा बोकेर लोड अनलोड गरेको दिन मात्रै खाना खुवाउन सक्थे। काम गर्न नसकेका दिन उनीहरू भोकै सुत्नुपर्थ्यो। खाना नभएको दिन उनीहरू गिठ्ठा भ्याकुर र कन्दमूल खोज्न जंगलतिर जान्थे।

एकदिन उनीहरूसँग खानका लागि केही थिएन। भोकभोकै घरमा बसिरहेको वेला एक्कासी घरमा आएका एक पुरुषले एक बोरा सामान राक्सिराङबाट मनहरीसम्म पुर्‍याइदिए ३ हजार रुपैयाँ दिने बताए। घरका जहान भोकभोकै सुत्न लागेका वेला एक बोरा सामान बोकेर मनहरीसम्म पुगेको ३ हजार आउने भएपछि उनी खुशी भए।

सामानले भरिएको त्यो बोरा मनहरी पुर्‍याएपछि उनलाई ३ हजार रुपैयाँ दिने शर्त थियो। सोहीअनुरूप हरिले २० किलो गाँजाले भरिएको बोरा नाम्लो लगाएर पिठ्युँमा बोकेर हिँडे।

रातको समय थियो तैपनि उनले कुनै कुरा पर्वाह नगरी यात्रा सुरु गरे। खोला, बगर र जंगलको बाटो पार गरेर गन्तव्यमा नपुग्दै एक हुल प्रहरी आएर उनलाई समातेर गाडीमा चढाए। लागुऔषध गाँजा बोकेको भन्दै प्रहरीले उनलाई अदालतमा पेस गर्‍यो र उनी भीमफेदी कारागार चलान भए।

३ हजार रुपैयाँको आशामा गाँजा बोक्ने भरिया बनेका उनले अन्ततः न गाँजा बोकेको पैसा पाए न घर नै फर्कन पाए।

उनीजस्तै गरेर केही पैसाको लालचमा परेर कारागारमा कैद भइरहेका छन्‚राक्सिराङकै ३० वर्षीय बाबुराम।

उनी ११ महिनादेखि भीमफेदी कारागारमा छन् तर हालसम्म उनको मुद्दाको फैसला नभएको हुँदा अझै कतिन्जेल बस्नुपर्छ भन्ने यकिन भएको छैन।

वैदेशिक रोजगारीमा सफलता पाउन नसकेर फर्किएका बाबुराम गाउँमा रोजगारी नपाएर दिक्क थिए। ठूलो परिवार पाल्न उनलाई रोजगारी आवश्यक थियो। जति प्रयास गरे पनि उनले कहीँ रोजगारी पाउन सकेका थिएनन्।

कामको खोजीमा बाबुराम भौँतारिरहेका वेला गाउँकै एकजना दाइले उनलाई अटोमा लुकाएर हेटौंडाबाट पथलैयासम्म पुर्‍याइदिन भने। उनले अटोमा बसेर गाँजा पुर्‍याउन गएको १० हजार पाउने भएपछि दोहोर्‍याएर नसोचीकनै हुन्छ भने र त्यसतर्फ निस्किए।

बाटोमै प्रहरीले उनलाई गाँजासहित समात्यो। प्रहरीलाई उनले आफूलाई काम लगाउनेको नाम पनि भने तर हालससम्म उनी पक्राउ नपर्दा बाबुरामको मुद्दा पनि फैसला हुन सकेको छैन।

‘बेरोजगारीको आगोमा जलिरहँदा मैले नराम्रो कदम चालेछु। न पैसा पाएँ  न घर नै जान पाएँ’, उनले भने‚ ‘घरमा मेरो छोरा पनि जन्मिएको छ रे तर म भेट्न जान पाइनँ।’

हरि र बाबुराम त उदाहरण मात्रै हुन्। प्रहरीले दैनिक लागुऔषधसहित पक्राउ गर्नेहरू अधिकांश यस्तै भरिया मात्रै हुन्छन्।

उनीहरू गरिबी र बेरोजगारीका कारण केही पैसाको लोभमा त्यो बाटोमा पुगेका हुन्छन् तर दैनिक रूपमा लागुऔषध ओसारपसार गर्ने भरिया पक्राउ गर्ने प्रहरीले हालसम्म यसको खरिदबिक्री गर्ने नाइकेलाई भने पक्राउ गर्न सकेको छैन।

विशेषगरी राक्सिराङ गाउँपालिका पिछडिएको ठाउँ जहाँका अति सीमान्तकृत समुदाय चेपाङ गरिबी, अशिक्षा र बेरोजगारीको मारमा छन्। उनीहरूका लागि गाँजा अभिशाप बनेको छ।

राक्सिराङको अधिकांश घरमा गाँजा मुद्दामा कारागारबाट फर्किएका,कारागारमा कैद भुक्तान गरिरहेका र फरार अवस्थामा रहेका घटना भेट्न सकिन्छ। बेरोजगारीकै कारण दुई छाक टार्न लागुऔषध गाँजा ओसारपसार गर्न पुगेका उनीहरू प्रहरीको फन्दामा पर्ने र कारागार चलान हुने क्रम रोकिएको छैन।

एउटै गाउँपालिकाका ९० जना कारागारमा

गाँजा ओसारपसार गर्ने क्रममा पक्राउ परेकाहरूमा राक्सिराङ गाउँपालिकाका मात्रै ९० जना रहेका छन्। भीमफेदी कारागारले दिएको तथ्यांकअनुसार पछिल्लो पाँच वर्षमा विभिन्न खाले लागुऔषधसहित पक्राउ परेर कारागार चलान हुनेहरूमा राक्सिराङ गाउँपालिकाका मात्रै ९० जना रहेका हुन्।

कारागारका जेलर मदन लामाका अनुसार पछिल्लो पाँच वर्षमा १ हजार ७४ जना विभिन्न प्रकारका लागुऔषसहित पक्राउ परेको मुद्दामा कारागार पुगेका छन्।

उनीहरूमध्ये कति भारतीय छन् त कति नेपालका विभिन्न कुनाबाट आइपुगेका छन्। तीमध्ये एउटै गाउँपालिकाका मात्रै ९० जना पनि पुगेका हुन्।

कसरी हुन्छ गाँजा खरिदविक्री ?

गाँजा खरिदविक्री गर्ने तस्करहरूको ५ तहको सञ्जाल हुन्छ। पहिलो खरिदकर्ता, दोस्रो ठेक्का लिने ठेकेदार, तेस्रो बिचौलिया, चौथो किसान र पाँचौँ तथा अन्तिममा भरिया।

भीमफेदी कारागारमा कैद सजाय भुक्तान गरिरहेका गाँजा ओसारपसारका एक बिचौलियाका अनुसार नेपालमा उत्पादन भएको गाँजा विभिन्न नाका हुँदै छिमेकी मुलुक भारत पुग्ने गरेको छ। गाँजा तथा अन्य लागुऔषध खरिद गर्ने भारतीय नाइकेहरू नेपाल आउँदैनन्।

उनीहरू सीमापारिबाट नै लागुऔषध गाँजा खरिदविक्री गर्छन्। सीमापारिबाट उनीहरूको सम्पर्क नेपालको तराई क्षेत्रमा रहेका ठेकेदारसँग हुन्छ।

राक्सिराङ लगायत गाँजा उत्पादन हुने क्षेत्रमा किसानले उत्पादन गरेको गाँजा खरिद गरेर बेच्ने बिचौलिया हुन्छन्। जोसँग ठेकेदारले कुरा गरेर गाँजाको माग गर्छन्।

सबैभन्दा पहिला मूल्यमा मोलमोलाइ हुन्छ। बिचौलियाले किसानसँग प्रतिकिलो एक हजार रुपैयाँमा खरिद गरेर पाँचदेखि ८ हजार रुपैयाँ प्रतिकिलोसम्म बेच्ने गरेको कारागारमा कैद भुक्तान गरिरहेका बिचौलियाको भनाइ छ।

किसानसँग गाँजा खरिद गरेपछि त्यसलाई निश्चित स्थानसम्म पुर्‍याउन गरिबी र  बेरोजगारीमा पिल्सिरहेकालाई भरिया बनाउने गरेको उनी बताउँछन्।

एउटा बिचौलियाले ठूलो ठेक्का पाउँदा अर्कोलाई चित्त नबुझ्ने र सामान ओसारपसार गर्दा प्रहरीलाई खबर गरिदिने गरेको उनी बताउँछन्। जसले गर्दा प्रहरीको फन्दामा भरिया मात्रै गरेका छन्।

ती भरियालाई बिचौलिया,ठेकेदार र नाइके कसैको बारेमा पनि जानकारी नहुने हुँदा अरू उम्किदै आएका छन्।

किन पक्राउ पर्दैनन् नाइके ?

प्रत्येक दिनजसो प्रहरीले गाँजा तथा अन्य लागुपदार्थ सहित मानिस पक्राउ गरिरहेको हुन्छ। तीमध्ये अधिकांश व्यक्तिहरू भरिया मात्रै हुने गरेका छन्। दैनिक लागुऔषधसहित भरिया पक्राउ गर्ने प्रहरीले यसको खरिदविक्री गर्ने मुख्य नाइकेलाई किन पक्राउ गर्न सक्दैन भन्ने प्रश्न उठ्न थालेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयेश्वर रिमालका अनुसार लागुऔषध ओसारपसार तथा खरिदविक्री गर्ने नाइकेहरू पक्राउ गर्न नसक्नुमा धेरै कारण छन्।

पहिलो कारण प्रहरीले जसलाई पक्राउ गर्छ उनीहरू भरिया मात्रै हुने गर्छन्। जसले यसको मुख्य नाइकेलाई चिनेको नै हुँदैन। उनीहरू स्थानीय चिनजानको कसैको आग्रहमा भरिया बनेका हुन्छन् तर प्रहरीले पक्राउ गरेपछि उनीहरूले चिनेको मान्छेको पनि नाम नबताउने गरेको रिमालको भनाइ छ।

‘गाँजा ओसारपसार गर्नेहरू ४/५ तहमा बसेर काम गरेका हुन्छन्। हामीले पक्राउ गर्ने भरियाले कसैलाई चिनेकै हुँदैन, चिनेको भए पनि उनीहरूले नाम भन्न चाहँदैनन्’,रिमालले भने‚ ‘हामीले उनीहरूलाई जबरजस्ती गर्न पनि सक्दैनौँ।’

उनका अनुसार भरियालाई गाँजा ओसारपसार गर्न लगाउनेहरूले पक्राउ परेको खण्डमा परिवारको देखभाल गरिदिने जस्ता विभिन्न प्रलोभन देखाउने गरेका कारण उनीहरू नाम बताउन नचाहने गरेका छन्।

प्रहरी नायब उपरीक्षक रिमालले विशेषगरी गाँजा भारतमा खरिदविक्री हुने गरेको बताए। ‘उनीहरूले ४‚५ वटा लेयर बनाएर काम गरेको हुन्छ। एक लेयर समातिन्छ जो भरिया हुन्छ। त्यहाँबाट मुस्किलले हामी दोस्रो लेयरसम्म पुग्छौँ, तेस्रो लेयरदेखि पेशेवर व्यक्ति हुन्छन्। उनीहरूलाई पक्राउ गर्न मुस्किल नै पर्छ’,  उनले भने।

उनका अनुसार गाँजा ओसारपसार संगठित अपराध भएकाले यसमा आफ्नो समूहको सुरक्षा महत्त्वपूर्ण हुन्छ। जसले गर्दा पक्राउ परेकाहरूले आफ्नो साहुको नाम बताउन चाहँदैनन्।

प्रहरीलाई प्रविधिको पनि सहयोग नभएका कारण यसको माथिल्लो तहसम्म पुग्न मुस्किल परेको उनको भनाइ छ। प्रहरीले मोबाइलको कल रेकर्डबाट अनुसन्धान गर्न सक्छ तर लागुऔषध तस्करहरूले सामाजिक सञ्जालबाट नै डिल गर्ने गरेकाले अनुसन्धानमा प्रहरीलाई अप्ठेरो परेको छ।

रिमालका अनुसार प्रहरीले पक्राउ गर्ने भरियामा अधिकांश गरिबी र बेरोजगारीका कारण त्यहाँ पुगेका हुन्छन्।

‘किशोरकिशोरीहरू पैसाको प्रलोभनमा परेका हुन्छन् भने अरू गरिबी र बेरोजगारीका कारण अन्य विकल्प नभएर यस्तो गर्न बाध्य भएको देखिन्छ’,उनले भने‚ ‘यस्तो गर्नु गैरकानुनी हो भन्ने बुझ्दाबुझ्दै पनि गरिबीको कारण अन्य विकल्प नभएर यो बाटो अपनाएको देखिन्छ। यसबाट छिटो धेरै पैसा कमाउने सक्ने हुँदा एकप्रकारको लालच पनि छ।’

thahakhabar.com मा श्रीजना नेपालले लेख्नुभएको समाचार साभार गरिएको हो ।