हेटौंडा । नेपालमा व्याप्त भ्रष्टाचार, कुशासन र राजनीतिक अस्थिरताका कारण जनताले गम्भीर समस्याको सामना गर्नुपरेको भन्दै नेपाल नीति अध्ययन केन्द्रले गम्भीर चिन्ता व्यक्त गरेको छ । केन्द्रले बिहीबार महासचिव डा. राजु घिमिरे र अध्यक्ष महारथी प्यारजंग थापा (अ.प्रा.)को हस्ताक्षर रहेको विज्ञप्ती जारी गर्दै राज्य संयन्त्र प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा आम नागरिकको जीवनस्तर झन् कठिन बन्दै गएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा जनताको दैनिकीसँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा, स्वास्थ्य, रोजगारी, सुरक्षा, सुशासन र आर्थिक विकासका क्षेत्रमा अपेक्षित सुधार हुन नसकेको बताइएको छ। साथै, वर्तमान शासन प्रणाली जनअपेक्षा अनुरूप नचलेको र भ्रष्टाचार नियन्त्रणका प्रयास प्रभावकारी नदेखिएको केन्द्रको ठहर छ । देशमा राजनीतिक स्थिरता कायम हुन नसक्दा राष्ट्रिय एकता कमजोर बन्दै गएको, सामाजिक सद्भावमा असर परेको र विकास निर्माणका कार्य प्रभावित भएको विज्ञप्तिमा उल्लेख छ। केन्द्रले यस्तो अवस्था दीर्घकालसम्म रहिरहे देश थप संकटमा फस्ने चेतावनी दिएको छ ।

नेपाल नीति अध्ययन केन्द्रले विद्यमान राजनीतिक संकटको समाधानका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएको छ। साथै, राष्ट्रिय एकता, शान्ति, स्थायित्व र दिगो विकासका लागि समावेशी संवाद, सहमति र राजनीतिक सुधार अपरिहार्य रहेको उल्लेख गरिएको छ । केन्द्रले सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी वर्ग तथा आम नागरिकलाई राष्ट्रहितलाई केन्द्रमा राखेर अघि बढ्न आह्वान समेत गरेको छ ।

रातो समाचार संवाददाता
थप जानकारी