हेटौंडा । मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१० स्थित टिसिएन चौरमा सञ्चालन हुने भनिएको दोस्रो बृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सव स्थगित गरिएको छ । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशअन्तर्गतको मकवानपुर जिल्ला खेलकुद विकास समितिले फागुन ०२ गतेदेखि १६ गतेसम्म महोत्सव आयोजना गर्ने तयारी गरेको थियो ।
तर निर्वाचन आचारसंहिता र सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरको सुझाव अनुसार महोत्सव स्थगित गर्ने निर्णय गरिएको समितिले जनाएको छ ।जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष राजकुमार मोक्तानले सोमबार एक सूचना जारी गर्दै निर्वाचन सम्पन्न भएपछि उक्त महोत्सव फागुन २९ गतेदेखि चैत्र १४ गतेसम्म सञ्चालन गर्ने जानकारी गराएका छन् ।
महोत्सवमा विभिन्न खेलकुद प्रतियोगिताहरू आयोजना गरिने उनले बताए । जसअन्तर्गत राष्ट्रिय महिला भलिबल प्रतियोगिता, राष्ट्रिय तेक्वान्दो प्रतियोगिता, जिल्ला स्तरीय पुरुष भलिबल, कराँते तथा व्याडमिन्टन प्रतियोगिता साथै १० किलोमिटर महिला तथा पुरुष दौड प्रतियोगिता समावेश गरिएको छ । उनले निर्वाचनपछि महोत्सवलाई अझ व्यवस्थित रूपमा सम्पन्न गरिने जानकारी दिँदै सबै सरोकारवालाहरूलाई सहभागिताका लागि अनुरोध गरेका छन् ।

















प्रतिक्रिया दिनुहोस्