सर्बोच्च अदालतका कामय मुकायम प्रधानन्यायधीश दीपककुमार कार्कीले न्यायालयप्रति आमजनताको भरोसा बढाउन आफूहरु सुधार अभियानमा लागिरहेको बताउनुभएको छ । बुधबार जिल्ला अदालत बझाङको नवनिर्मित भवनको यहाँ उदघाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

कावा प्रधानन्यायाधीश कार्कीले न्यायपालिकामा भएका बिकृति बिसंगतीलाई हटाएर आमनागरिकले बिश्वास गर्नेखालको वातावरण बनाउन आफुले प्रयास गरिरहेको चर्चा गर्नुभयो । न्यायपालिका सुधारका लागि कुनै एक जनाले गरेर नहुने भन्दै उहाँले सबैको साथको आवश्यकता रहेको बताउनुभयो ।

विशेषगरी कानुन ब्यावसायी, कर्मचारी र आमउपभोक्ताले सजग हुनुपर्ने समेत उहाँले सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “कानुन ब्यावसायी अदालतभित्रको कर्मचारी खराब या राम्रो कामबारे जानकार हुने भएकाले त्यस्तो कुरा बाहिर ल्याइदिनुपर्छ ।”     न्यायपालिका सुधारमा तल्लो तहमा रहेको न्यायालयको पनि ठूलो भूमिका रहने उहाँले बताउनुभयो ।

अदालतमा सेवाग्राहीलाई बिना झन्झट कामगरी सहयोग गर्न उहाँले मातहत निकायलाई निर्देशन दिनुभयो । अदालतको कानुनी र प्राबिधिक कुरा सेवाग्राहीलाई थाहा नहुने हुनाले राम्रोसँग बुझाएर काम गर्न उहाँले न्यायालयका कर्मचारीलाई निर्देशन दिनुभयो ।

कर्मचारीले राम्रोलाई राम्रो र खराबलाई खराब भन्न सक्ने वातावरण तयार गर्नुपर्नेमा कार्कीले सुझाव दिनुभयो । सो अवसरमा कावा प्रन्या कार्कीले जिल्ला अदालत बझाङको नवनिर्मित भवनको उदघाटन गर्नुभयो । नवनिर्मित भवनको निरीक्षण पनि गर्नुभयो ।

८ करोड ३६ लाख रुपियाँको लागतमा निर्माण भएको भवन जिल्लाका सरकारी कार्यलयमध्ये सबैभन्दा ठूलो भवन मानिएको छ । कावा प्रधानन्याधीश कार्कीसँग कामम मुकायम मुख्य रजिष्ट्रार नारायणप्रसाद पन्थी, उच्च अदालत दिपायलका मुख्य न्यायाधीश नृपध्वज निरौला, कार्कीका श्रीमती शिबु कार्की लगायतको सहभागिता रहेको थियो ।

गोेरखापत्रबाट साभारछ ।