हेटौंडा । हेटौंडा–८, कमानेस्थित चन्द्रोदय माध्यमिक विद्यालयको खेलमैदानमा जारी पहिलो संस्करणको ८ ए साइड महिला फुटबल प्रतियोगिताको फाइनलमा हेटौंडा फुटबल एकेडेमी प्रवेश गरेको छ । कमाने फुटबल एकेडेमीको आयोजनामा जारी प्रतियोगितामा शुक्रबार भएको सेमिफाइनलको खेलमा हेटौंडा फुटबल एकेडेमीको टिमले चितवन जिल्लास्थित भरतपूर महानगरपालिकाको अम्बासडोर्स फुटबल क्लबलाई २–० गोलले हराउँदै फाइनलको यात्रा तय गरेको हो ।
प्रतियोगिता अन्तर्गत भोलि शनिबार हुने फाइनल चरणको खेलमा हेटौंडा फुटबल एकेडेमीले आयोजक कमाने फुटबल एकेडेमी क्लबको टिमसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । दुबै टिम उपाधिको होडमा मैदानमा उत्रने छन् । हेटौंडा फुटबल एकेडेमीको जीतमा सुस्मिता घिसिङले दुई गोल गरेकी थिइन् । उनले पहिलो हाफको २२ र २७ मिनेटमा १–१ गोल गरिन् । खेलको म्यान अफ द म्याच सुस्मिता घिसिङ घोषित हुँदै १ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छिन् ।
शुक्रबार भएकै पहिलो सेमिफाइनल खेलबाट जीत निकाल्दै आयोजक कमाने फुटबल एकेडेमी फाइनलमा प्रवेश गरेको हो । आयोजक कमाने फुटबल एकेडेमीले रातोमाटे युथ क्लबलाई ४–० गोलको फराकिलो अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो । आयोजकको तर्फबाट वर्षा ओलीले ह्याट्रिक गोल गरेकी थिइन् भने सजिना स्याङ्तानले एक गोल गरेकी थिइन् । बिहीबार भएको क्वार्टरफाइनल चरणको दोस्रो खेलमा चितवन जिल्लाको हेल्पफुल साइमन स्पोर्टस् क्लबलाई १–० गोलले हराउँदै हेटौंडा फुटबल एकेडेमीले आन्तिम ४ मा प्रवेश गरेको थियो ।
प्रतियोगितामा ८ वटा टिमहरुको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधि विजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिााले ३० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ ।














प्रतिक्रिया दिनुहोस्