हेटौंडा । हेटौंडामा लागूऔषध नियन्त्रण सम्बन्धी सचेतना मूलक कार्यक्रम भएको छ । सोमबार बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको आयोजनामा तथा हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा लागूऔषध नियन्त्रण सम्बन्धी सचेतना मूलक कार्यक्रम भएको हो । नगर प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यमा तथा प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख डीआइजी अरुण पौडेलको सभाध्यक्षमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख, जिल्ला प्रशासन कार्यालयका प्रमुख, ट्राफिक प्रहरी, हेटौंडाका वडाध्यक्षहरुको उपस्थिति रहेको थियो ।

नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाईंले आफ्‌नो बालबालिकाहरुलाई कुलतबाट जोगाउनका लागि अभिभावक आफैँ सचेत हुनुपर्ने बताएका छन् । उपाध्यक्ष हुमागाईंले आफ्‌नो बालबालिका कता र कस्तो संगतमा लागेको छ भन्ने कुरामा लागेर सचेत हुनुपर्ने बताएका हुन् । घर, टोल छिमेकर विद्यालयस्तरबाटै बालबालिकालाई यसको दुर्व्यसनीबाट बचाउनका लागि ध्यान दिनुपर्ने उनले बताए । सुर्ती गुड्खा चुरोट जस्ता वस्तुहरुको सेवन गर्न सुरु गरेर पछि विद्यालयका बालबालिका लागूऔषधको दुव्यर्सनीमा पर्ने बताउँदै उनले भने,, मेरो छोरो कक्षा–९ पढ्दाको कुरा हो, उसको कक्षाको विद्यार्थी मिलेर खाना खाने पैसा जम्मा गरेर विद्युतीय चुरोट भेप खरिद गरेर सेवन गर्ने गरेका थिए ।

यस्ता प्रकारका कार्यलाई रोक्नका लागि विद्यालयमा सबै जना सक्रिय हुनुपर्ने उनको सुझाव थियो । लागूऔषधको ओसार पसारलाई रोक्नका लागि चुरियामाई नाकालाई सशक्त बनाउनुपर्ने उनको भनाई थियो । आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट लागूऔषधको सचेतना मूलक कार्यक्रमका लागि ३० लाख रुपैयाँको मात्र बजेट छुट्याउने गरेको उनले बताए । लागूऔषध सेवन कर्तामा के कति सुधार भयो ? भन्ने कुराको विवरण पुन स्थापना केन्द्रबाट लिन आवश्यक रहेको उनले दावी गरे ।

प्रदेश प्रहरी कार्यालयका प्रमुख अरुण पौडेलले छिमेकी मूलूक भारतको औषधी पसलहरुमा पनि बढी मात्रामा लागू औषध विक्री हुने गरेको बताए । उनका अनुसार भारत हुँदै नेपालमा ल्याएर पनि विभिन्न स्थानीयहरुमा लागूऔषधको विक्री वितरण गरेको पाइएको छ । लागूऔषधको सेवनलाई नियन्त्रण गर्नका लागि जडैबाट उर्खेनुपर्ने बताए । विशेषगरी लागूऔषधको प्रकोप १६ वषदेखि ३५ वर्ष उमेर समूहको युवाहरुमा देखिने गरेको उनले बताए ।

हजारको मानिसहरुको उपस्थितिमा लागूऔषध सम्बन्धी सचेतना मूलक कार्यक्रम गरेपनि यसको राम्रो प्रभाव पर्न नसकेकोमा उनले चिन्ता व्यक्त गरे । विशेषगरी किशोरावस्थाका युवाहरुलाई लक्षित गरेर कार्यक्रमको आयोजना गर्नुपर्ने उनको सुझाव थियो । लागूऔषधको प्रयोगलाई मुक्त गराउन नसक्ने भएपछि यसको प्रयोगलाई कम गराउन सबै लाग्नुपर्ने उनले बताए । गत ३–४ महिनामा मात्र ४६२ किलोग्राम लागू औषध ’गाँजा’ नियन्त्रण गरिएको बताइएको छ । हेटौंडा उपमहानगरपालिकामा सबै भन्दा बढी लागूऔषध ओसारपसार तथा सेवान गरेको र इन्द्रसरोवर गाउँपालिकामा सबैभन्दा कम रहेको बागमती प्रदेश प्रहरी कार्यालयको एक अध्ययनले देखाएको छ ।

रातो समाचार संवाददाता
थप जानकारी