यतिबेला निर्वाचन आयोगको तालिकानुसार निर्वाचन गतिविधि अगाडि बढिरहेका छन्। निर्वाचन सुरक्षाका लागि सरकारले म्यादी प्रहरीसमेत परिचालन गरेको छ, तर पोसाकबिनै। जिल्लामा समयमै पोसाकलगायतका सामग्री नआउँदा म्यादी प्रहरी पोसाकबिनै परिचालन भएका हुन्।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक खिमबहादुर घर्ती मगरका अनुसार जिल्लामा पर्याप्त पोसाकलगायतका सामान आएका छैनन्। सबै पोसाकलगायतका सामान आएपछि वितरण हुने उनको भनाइ छ। पोसाकबिनै डियुटीमा खटिँदा असजिलो महसुस हुने गरेको म्यादी प्रहरीहरु बताउँछन्। ‘भीड हुने क्षेत्रमै सुरक्षाका लागि हामीसमेत प्रहरीसँगै खटिएका छौं,’ एक म्यादी प्रहरीले भने, ‘एउटा लठ्ठीको भरमा सादा पोसाकमा खटिँदा मान्छेले हेप्ने गर्छन्। पोसाक पाए डियुटी गर्न सजिलो हुन्थ्यो।’

म्यादी प्रहरीले पोसाकसँगै जुत्ता, झुल, सिलपिङ ब्याकलगायतका सामान पाउने गरेका छन्। अहिलेसम्म बाँकेमा भर्ना गरिएका म्यादी प्रहरीले उल्लेखित कुनै सामानसमेत पाएका छैनन्। ‘म्यादी प्रहरीलाई आवश्यक सामान नहुँदा समस्या भएको छ,’ एक प्रहरी अधिकृतले भने, ‘जिल्ला प्रहरी कार्यालयको नियत नभइ केन्द्रबाटै ढिलाइ हुँदा वितरण हुन सकेको छैन।’

एकजना म्यादी प्रहरीले दुई जोर पोसाक, जुत्ता, झुल, सिलपिङ ब्याकलगायतका सामान पाउने छन्। निर्वाचन अवधिभरिको लागि बाँकेमा एक हजार ६ सय ६८ जना म्यादी प्रहरी भर्ना गरिएको छ। पोसाक नहुँदा उनीहरु सादा पोसाकमा खटिएका छन्।

सादा पोसाकमा हुँदा नागरिकलेसमेत अर्कै दृष्टिकोणले हेर्ने गरेको म्यादी प्रहरीहरुको भनाइ छ।नागरिक न्युज बाट साभार