हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाको सिम्पानी युथ क्लबले दोस्रो संस्करणको हासु एफसी कप खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ । चितवन जिल्लाको राप्ती नगरपलिकाको सिमरा खेलमैदानमा मंगलबार सम्पन्न भएको फाइनल खेलमा आयोजक सिमरा युवा समाजलाई १–० गोल अन्तरले हराउँदै साविक विजेता समेत रहेको सिम्पानी युथ क्लबले उपाधि जितेको हो । सिम्पानीको लागि रोशन दोङले पेनाल्टी मार्फत दोस्रो हाफमा गोल गरेका छन् ।
यस अघि आइतबारनै हुन भनिएको फाइनल खेल केही विवादको कारण रोकिएर दुबै पक्षबीचको सहमती पछि खेल मंगलबार भएको हो । सिमरा आइतबार दोस्रो हाफको ३ मिनेटको खेल चलिरहँदा आयोजक सिमरा युवा समाजको डिफेन्डरको हातमा डि–एरिया भित्र ह्याण्ड भएपछि सिम्पानीको टिमलाई मुख्य रेफ्रिले पेनाल्टी दिएको थियो ।
त्यस लगत्तै आयोजक सिमरा युवा समाजका टिम कप्तान र गोलरक्षकले मुख्य रेफ्रिलाई दवाब दिएपछि पेनाल्टीको निर्णय फिर्ता लिएर आयोजक र रेफ्रिको मेलमिलापमा खेलमा हराउने प्रयास गरेपछि सिम्पानी युथ क्लबले मैदान छोडेका थिए । उक्त समयमा स्थगित भएको खेललाई मंगलबार दोस्रो हाफको समयदेखि सञ्चालन गरिएको हो ।
प्रतियोगिताको उपाधि विजेता सिम्पानी युथ क्लबको टिमले ५५ हजार ५ सय ५५ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् भने उपविजेता आयोजक सिमरा युवा समाजको टिमले ३५ हजार ५ सय ५५ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । खेलको म्यान अफ द म्याच सिम्पानी युथ क्लबका गोलरक्षक अस्मिर गोङ्बा घोषित भएका छन् । यस्तै बेष्ट प्लेयर अफ द टुर्नामेन्ट र उत्कृष्ट गोलरक्षक गोङ्बा र सर्वाधिक गोलकर्ता सिम्पानीकै मिलन स्याङ्तान घोषित भएका छन् ।
सिम्पानी युथ क्लबले शुक्रबार भएको सेमीफाइनल चरणको खेलमा बागमती प्रदेश प्रहरीगण हेटौंडालाई ३–० गोलको फराकिलो अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको थियो भने बिहीबार भएको क्वार्टरफाइनलको अन्तिम खेलमा लामा स्पोर्टस् क्लबलाई १–० गोलले हराउँदै मनहरीको सिम्पानी युथ क्लब सेमीफाइनलमा प्रवेश गरेको हो । भदौ ३० गतेबाट सुरु भएको प्रतियोगितामा २४ वटा टिमहरुको सहभागिता रहेको थियो ।

































प्रतिक्रिया दिनुहोस्