सत्तारूढ गठबन्धनले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई अवरुद्ध संसद् सुचारु गर्नका लागि सहयोगी भूमिका निर्वाह गर्न आग्रह गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकले प्रतिपक्ष दलबाट अवरुद्ध संसद् नियमित रूपमा सुचारु गर्न एमालेलाई आग्रह गर्ने निर्णय गरेको नेपाली काँग्रेस पार्टीका महामन्त्री गगनकुमार थापाले बताउनुभयो ।

“लामो समयसम्म संसद् सुचारु नहुँदा जनतामा संसद्प्रति नै नकारात्मक धारणा बन्न सक्छ भन्ने बुझाइ सत्ता गठबन्धनको हो,” उहाँले भन्नुभयो, “प्रमुख प्रतिपक्ष दललाई संसद् सञ्चालनका लागि वातावरण तयार गर्नका निमित्त आग्रह गर्ने निर्णय भएको छ ।” त्यस्तै अमेरिकी सहयोग परियोजना (एमसीसी) पारित गर्न संसद्भित्र तथा बाहिर रहेर सहयोग पु¥याउने सबै राजनीतिक पार्टी र पार्टीहरूका शीर्ष नेतृत्व तथा बुद्धिजीवीलाई बैठकले धन्यवाद दिएको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अनुमोदन गर्न योगदान गर्ने सबै दलको नेतृत्वलाई धन्यवाद व्यक्त गर्नुभएको जानकारी दिनुभयो ।त्यस्तै सुझबुझ पूर्ण ढङ्गले एमसीसी पारित गर्न भूमिका निर्वाह गर्नुभएकोप्रति प्रधानमन्त्री देउवाको बैठकले प्रशंसा गरेको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री देउवाको खुलेर प्रशंसा गर्नुभएको हो ।

एमसीसी पारित गर्ने क्रममा प्रधानमन्त्री देउवाले परिपक्व र जिम्मेवार भूमिका निर्वाह गरेको भन्दै समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले प्रशंसा गर्नुभएको थियो तर नेता झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले एमसीसी पारित भएकोप्रति बैठकमै असन्तुष्टि जनाउनुभयो ।
नेता खनाल र श्रेष्ठको असन्तुष्टिलाई प्रस्ट पार्र्दै प्रधानमन्त्री देउवाले व्याख्यात्मक टिप्पणीसहितको प्रस्तावलाई अमेरिका सरकारले सहजै स्वीकारेको कुरा बैठकमा सुनाउनुभएको जानकारी स्रोतले दिएको छ । एमसीसी पारित भएसँगै अमेरिका नेपालको आर्थिक विकास र समुन्नतिका लागि अझै आर्थिक सहयोग गर्न तत्पर रहेको भनाइ सत्ता गठबन्धनको छ । यो गठबन्धन निर्वाचनसम्मै लैजाने विषयमा प्रधानमन्त्री देउवा सहमत देखिनुभएको छ ।

नेपालका लागि अमेरिकाका राजदूत -यान्डी बेरीले पनि व्याख्यात्मक टिप्पणीसहितको एमसीसी अनुमोदन स्वीकार्य भएको यसअघि नै स्पष्ट पारिसक्नु भएको छ ।आगामी वैशाख ३० गतेलाई निर्धारित स्थानीय तहको निर्वाचनका लागि दलहरूबीच आन्तरिक छलफल र तयारीका विषयमा पनि बैठकमा कुरा भएको महामन्त्री थापाले बताउनुभयो । यस विषयमा दलहरूबीच आन्तरिक छलफल हुनेछ ।बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष नेपाल र वरिष्ठ नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई, काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का सहभागी हुनुहुन्थ्यो ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो