कोरोना महामारीसँगै विश्वव्यापी रूपमा अनलाइन गतिविधि बढ्यो । विश्वविद्यालय, विद्यालयहरू भर्चुअल रूपमा सञ्चालन भए ।

सेमिनार, गोष्ठी, बैठक, वार्ताहरू पनि भर्चुअल रूपमै अघि बढे । महामारी नियन्त्रण तथा रोकथाम गर्न सरकारले पनि सकेसम्म भर्चुअल तरिका अपनाई काम गर्न आग्रह गरिरह्यो । महामारी अझै कायम रहेकाले भर्चुअल गतिविधिले प्राथमिकता पाइरहेकै छ ।

भौतिक उपस्थितिमा हुने कक्षा, सेमिनार, बैठक, वार्ताहरू भर्चुअल हुँदै जाँदा गैरकानुनी गतिविधि पनि बढ्दै गएको छ । पछिल्लो समय अनलाइनमार्फत जुवा खेल्ने–खेलाउने गतिविधि मौलाउँदै आएको पाइएको प्रहरीको तथ्यांकले देखाउँछ । २ साताभित्र प्रहरीले अनलाइन जुवामा संलग्नको आरोपमा ८८ जनालाई पक्राउ गरी कारबाही थालेको छ ।

आइतबार साँझ काठमाडौं महानगरपालिका–७ बौद्धस्थित एक रेस्टुरेन्टमा अनलाइनमार्फत जुवा खेलाउने वीरेन्द्र मानन्धरसहित ६६ पुरुष र ८ महिलालाई महानगरीय प्रहरी परिसर र प्रहरी वृत्त बौद्धको टोलीले पक्राउ गरेको छ ।

दोलखा शैलुङका सुभाष घिसिङले सञ्चालन गरेको रेस्टुरेन्टमा मानन्धरले अनलाइनमार्फत जुवा ९बिंगो० खेलाउँदै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट ६ लाख १९ हजार २ सय ५० रुपैयाँ नगद पनि बरामद गरेको परिसर प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए ।

‘संक्रमणलाई बेवास्ता गर्दै ठूलो संख्यामा मानिसहरू भेला भई बिंगो खेलमा संलग्न भएको पाइयो,’ मैनालीले भने, ‘रेस्टुरेन्ट सञ्चालनका नाममा गैरकानुनी रूपमा अनलाइनमार्फत जुवा खेलाउने गरेकाले कारबाही थालिएको छ ।’ टिकट काट्ने, कुपन लिने, मोबाइलमार्फत बिंगो खेल्ने र लक्की नम्बरका नाममा हारजित हुने खेल खेल्ने गरेको पाइएको उनले जानकारी दिए । ‘रकमको भुक्तानी नगदै र मोबाइल बैंकिङमार्फत गर्ने गरेको पाइएको छ,’ उनले भने, ‘बिंगो खेल्न प्रयोग गरिने कुपन, नगद र मोबाइल बरामद भएको छ ।’ पक्राउ परेकाविरुद्ध अपराध संहिता, २०७४ को परिच्छेद–५ अन्तर्गत ‘जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने’ कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रेस्टुरेन्ट सञ्चालक घिसिङ भने फरार छन् ।

यसअघि महानगरीय प्रहरी वृत्त लैनचौरले गत माघ ११ मा ठमेलमा घनश्याम अम्गार्इंद्वारा सञ्चालित होस्टलको २०४ नम्बर कोठा भाडामा लिएर अनलाइनमार्फत जुवा खेलाउने २ जनालाई नगदसहित पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा बागलुङ थाइवाङका होस्टल सञ्चालक राकेशकुमार क्षेत्री र भारत दिल्ली तिलकनगरका जसपाल सिंह छन् । क्षेत्री यसअघि पनि अनलाइन जुवामा कारबाही भोगिसकेका व्यक्ति हुन् । उनीहरूले स्वदेशी तथा विदेशी ग्राहकलाई फेसबुकमार्फत साथी बनाउने, बोलाउने र युजर आइडी बनाइदिने गर्थे । ‘युजर आईडी बनाएपछि त्यहीं पैसा लिने, चेक लिने वा इ–सेवाबाट भुक्तानी लिने गरेर जुवा खेलाउने गरेको पाइएको छ,’ वृत्त प्रमुख दुर्गाप्रसाद दाहालले भने, ‘इंग्लिस प्रिमियर लिग, आईपीएललगायतमा उनीहरूले बेटिङ गर्ने गरेको समेत खुलेको छ ।’

 

दाहालका अनुसार सिंह ग्राहक खोज्ने काम गर्थे । उनीहरूको साथबाट १ लाख ५५ हजार रुपैयाँ नगद, सानिमा बैंकको ७४ हजारको चेक, कुमारी बैंकको पाँच लाख ६५ हजारको भौचर, इन्भेस्टमेन्ट बैंकको १८ लाख ४९ हजारको भौचर, वाणिज्य बैंकको ३२ हजारको भौचर, सानिमा बैंकको २ लाख र आईएमईबाट कारोबार गरेको ५० हजार रुपैयाँको भौचर बरामद भएको छ ।

उनीहरूले प्रयोग गरेका मोबाइल तथा अन्य विद्युतीय उपकरणहरू परीक्षणका लागि डिजिटल फरेन्सिक ल्याब ९डीएफएल० पठाएको र रिपोर्ट आउन बाँकी रहेको वृत्तले जनाएको छ ।

त्यसैगरी, अमेरिकामा बस्ने नेपालीले कर्मचारी राखेर अनलाइनमार्फत जुवा खेलाउने गरेको पनि पाइएको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले माघ ५ मा कीर्तिपुर–६ चोभार, ९ नगाउँ र १० बागभैरवस्थित ३ वटा घर भाडामा लिएर जुवा खेलाउने १२ जना पक्राउ परेका हुन् । सुजेन्द्र थापा, प्रदिपमान सिंह बस्नेत र बुद्ध महर्जनलाई विशेष जिम्मेवारी दिएर खटाइएको प्रहरीको भनाइ छ । नेपालमा भने उनीहरूको ग्राहक भेटिएको छैन । उनीहरूले सिफ्टअनुसार २४ सै घण्टा फेसबुक आईडीमार्फत अमेरिकी र युरोपेली नागरिकलाई साथी बनाई जुवा, फायर किरिङ, रिभर स्विप्स, रिभर मोन्स्टर, भेगास–एक्सलगायत खेल्न अमेरिकी डलर अनलाइनबाटै हाल्न लगाउने गरेको पाइएको महाशाखा प्रमुख बसन्तबहादुर कुँवर बताउँछन् ।

१० महिनायता मासिक करिब १ लाख अमेरिकी डलरभन्दा बढी रकम हारजित हुने गरी अनलाइन जुवा खेलाउँदै आएको खुलेको कुँवरले बताए । उनका अनुसार मोबाइल १७ थान, ल्यापटप १४ थान, कम्प्युटर २ थान, राउटर ३ थानलगायत सामग्री बरामद भएको छ । तर सञ्चालकको परिचय भने अझै नखुलेको प्रहरीको भनाइ छ ।

कोरोना महामारी सुरु भएपछि धेरै मानिस इन्टरनेटमा आश्रित भए । इन्टरनेटले धेरैलाई सुविधाभोगी बनायो । सँगसँगै गैरकानुनी गतिविधिमा पनि त्यही अनुपातमा प्रोत्साहन पुग्दै आएको बताउँछन् महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख सुदीप गिरी । ‘अनलाइन बेटिङ गर्ने, जुवा खेल्ने एप्सहरू हाम्रो नियन्त्रणमा छैनन् । त्यसैको फाइदा उठाएर गैरकानुनी रूपमा अनलाइन जुवा मौलाएको पाइएको छ,’ उनले भने ।

यसअघि जुवा खेलाउने, क्यासिनो खेलाउने व्यक्तिहरू नै हाल अनलाइन जुवामा सक्रिय भएको पाइएको प्रहरीले जनाएको छ ।

इन्टरनेटमार्फत हुने गैरकानुनी गतिविधि नियन्त्रण तथा रोकथामका लागि सरकारले कुनै प्रयास नगरेको एक प्रहरी अधिकारी बताउँछन् । ‘हामी पनि सरकारकै एक अंग हौं तर कानुन हाम्रो हातमा छैन,’ ती अधिकारीले भने, ‘अनलाइनमार्फत हुने गैरकानुनी गतिविधिले धेरैको जिन्दगी बिगारिसक्यो । सरकार बेखबर छ । यही गतिमा अपराध बढ्दै जाने हो भने राष्ट्रले ठूलो क्षति व्यहोर्नुपर्छ ।’

news-कान्तिपुरबाट

https://ekantipur.com/national/2022/02/03/164385095881747995.html