मकवानपुरगढी गाउँपालिकामा आयोजित जिल्ला स्तरीय रनिङ शिल्ड भलिवल प्रतियोगितामा सहिद सुनिता स्मृति प्रतिष्ठान विजेता भएको छ ।

मकवानपुरगढी गाउँपालिकामा स्थित आमभञ्याङमा भएको पहिलो जिल्ला स्तरीय रनिङ शिल्ड भलिवल प्रतियोगितामा थाहा नगरपालिका वडा नंबर १ को सहिद सुनिता स्मृति प्रतिष्ठान विजेता भएको हो ।

शनिबार भएको फाईनल खेलमा प्रतिष्ठानले आयोजक आमभञ्याङ युवा क्लबलाई पराजित गर्दै जितको उपाधि पाउन सफल भएको हो  भने उपाधि विजेता प्रतिष्ठानले नगद ६६ हजार ६ सय ६६ रुपैँया सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्न सफल भएको हो ।

त्यस्तै गरि उपविजेता आमभञ्याङले ३३ हजार ३ सय ३३ रुपैँया सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको हो भने तेश्रो स्थानमा पर्दै आग्रा खेलकुद विकास समितिले नगद १५ हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

छाहारी क्लबले सान्त्वना अन्तर्गत ५ हजार रुपैयाँ प्राप्त गरेको छ ।

प्रतियोगितामा आग्राका सविन कार्की वेष्ट ब्लकर, प्रतिष्ठानका राजकुमार कर्मचार्य वेष्ट सेटर, आमभञ्याङका आषिश घलान वेष्ट स्पाईकर तथा प्रतिष्ठानकै राजाराम घलान वेष्ट प्लेयर भएका उनीहरूले नगद पाँच/पाँच हजार सहित ट्रफि पाएका छन् ।

सोही कार्यक्रममा प्रतियोगिताका संयोजक इन्द्र प्रसाद सञ्जेललाई आयोजक क्लबले विषेश सम्मान र पत्रकार धर्मेन्द्र दाहाललाई स्वर्गीय केशवलाल स्मृति पत्रकारिता पुरस्कारबाट नगद ११ हजार १ सय ११ सहित सम्मानपत्रद्वारा सम्मानित गरेको छ ।

राष्ट्रिय भलिवल टिमका मुख्य प्रशिक्षक स्वर्गिय केशवलाल श्रेष्ठको स्मृतिमा स्थापित ‘स्वर्गिय केशवलाल श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार–२०७८’ बाट दाहाललाई सम्मानित गरिएको हो । कार्यक्रममा मकवानपुरगढी गाउँपालिका अध्यक्ष विदुर हुँमागाईसहित अतिथिहरुले सम्मान गर्दै पुरस्कार प्रदान गरेका थिए ।