कोरोना महामारीसँगै सुस्ताएको नेपालको पर्यटक आगमन यसपटक भने जुर्मुराउन खोजेको छ । गत वर्षको फेब्रुअरीभन्दा सन् २०२२ को फेब्रुअरीमा पर्यटक आगमन दोब्बरभन्दा धेरै देखिएको छ । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको विवरणअनुसार अघिल्लो वर्ष फेब्रुअरीमा नौ हजार १४६ विदेशी पर्यटक हवाईमार्गबाट नेपाल भित्रिएकामा यस वर्षको फेब्रुअरीमा १९ हजार ७६६ जना नेपाल घुम्न आएका छन् । यो ११६.१ प्रतिशतको वृद्धि हो ।

पर्यटक आगमन वृद्धिमा सबैभन्दा धेरै युरोपेली क्षेत्रको छ । त्यहाँबाट अघिल्लो वर्षको फेब्रुअरीमा एक हजार १४२ जना मात्र आएकामा यो वर्षको सोही महिनामा चार हजार ८१३ जना आएका छन् । यो ३२१ प्रतिशतले बढेको हो । सबैभन्दा धेरै पर्यटक आउने सार्क क्षेत्रबाट पनि करिब ४५ प्रतिशतले बढेर सात हजार २६२ पुगेको छ । यसमा भारतीय मात्रै करिब छ हजार छन् । समग्र आगमनमा सार्क क्षेत्रको हिस्सा ३६ प्रतिशत छ ।

धेरै मुलुकबाट नेपाल आउने पर्यटकको सङ्ख्या बढेको भए पनि चीन र म्यानमारबाट भने घटेको छ । चीनबाट अघिल्लो वर्षको फेब्रुअरीमा ७०८ जना पर्यटक आएकामा यसपटक २०५ जना मात्र नेपाल आएका छन् । सार्कबाहेकका एसियाली मुलुकबाट समग्रमा ५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको फेब्रुअरीमा ३६ जना मात्र अस्ट्रेलियाली नेपाल भ्रमणमा आएकामा यो पटक एक हजार ५२ जना नेपाल भ्रमणमा आएका छन् । यस्तै संयुक्त राज्य अमेरिकबाट अघिल्लो वर्षको फेबु्रअरीमा एक हजार १२० जना मात्र आएकामा यसपटक तीन हजार १९५ जना नेपाल आएको देखिन्छ ।

बेलायतबाट पनि यसपटक करिब चार गुणा बढी पर्यटक नेपाल आइपुगेका छन् । त्यहाँबाट अघिल्लो फेब्रुअरीमा ५२४ जना पर्यटक आएकामा यो फेब्रुअरीमा दुई हजार २१७ जना बेलायती पर्यटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत नेपाल आएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो