कञ्चनपुर बेलौरीका माधव भण्डारी स्नातक तहको अध्ययन गर्दा नै एमबीबीएस, फरेस्ट्री, कृषिलगायत स्नातक तहमा प्राविधिक विषय पढ्न चाहने विद्यार्थीलाई प्रवेश परीक्षा तयारी कक्षामा पढाउने गर्नुहुन्थ्यो । त्यतिबेला उहाँ २० वर्षको मात्र हुनुहुन्थ्यो । तयारी कक्षामा पढाउँदै आफू चितवनको रामपुर कृषि क्याम्पसमा पढ्नुहुन्थ्यो । यही क्रममा उहाँले साथीसँग मिलेर चितवनमै ‘सेन्टर फर एग्रिकल्चर एजुकेसन (केयर)’ नामकोे इन्स्टिच्युट खोल्नुभयो । इन्स्टिच्युटलाई विद्यार्थीमाझ प्रवेश परीक्षा कक्षा चलाउने रोजा संस्था पनि बनाउनुभयो ।
“कृषि विषय पढेँ । यही क्षेत्रमा अनुसन्धान पनि गरेँ । केही समयपछि इन्स्टिच्युटकै नाम जोडेर ‘केयर फार्म’ नामको कुखुरा र बाख्रा पाल्ने संस्था पनि स्थापना गरेँ मेघौलीमा,” भण्डारीले भन्नुभयो । जीवनलाई व्यवसायतिर नै मोड्ने योजनाका साथ उहाँले यो फार्म खोल्नुभएको थियो । अहिले पनि त्यहाँ प्रशस्त कुखुरा र बाख्रा छन् तर ट्युसन सेन्टर चलाउनुभन्दा फार्म चलाउन उहाँलाई निकै अप्ठ्यारो प¥यो, झन्झटिलो सरकारी प्रशासनिक तथा नीतिगत व्यवस्थाले । पढाइमा आफैँ अब्बल भएकाले पनि इन्स्टिच्युट चलाउन उहाँलाई समस्या भएन तर जेनतेन दुःखसुख झेल्दै फार्मको सुरुवात गरे पनि सधैँजसो बल्झिरहने प्रशासनिक समस्याले उहाँको मनमा नयाँ सोच आयो, “यो झन्झटिलो पद्धतिलाई थोरै मात्रै परिवर्तन गर्न आफैँ सरकारी सेवामा जागिर खानुपर्छ ।” यही भावनाका साथ उहाँले अरूलाई पढाउँदै आफँै पनि लोकसेवा आयोगबाट लिइने परीक्षाको तयारी गर्न थाल्नुभयो ।
लोकसेवा आयोगले परराष्ट्र सेवाका लागि माग गरेको अधिकृत पदका लागि उहाँले पहिलो पटक आवेदन दिनुभयो । त्यतिखेर खुला प्रतिस्पर्धाबाट छवटा पद मात्रै पूर्ति गर्न लागिएको थियो । तैपनि परीक्षामा सहभागी हुनुभयो तर उक्त परीक्षामा उहाँको नाम निस्केन । पहिलो प्रयासमा असफल भए पनि उहाँले हरेस खानुभएन । छवटा पदका लागि दिएको परीक्षामा अनुत्तीर्ण हुँदैमा सधैँका लागि असफल भइयो भन्न मिल्दैन भन्दै उहाँ यसपछि झन् दृढविश्वासका साथ परीक्षाको तयारीमा जुट्नुभयो ।
तयारी क्रममा लोकसेवा परीक्षामा दोस्रो पटक परीक्षा दिनुभयो । यो परीक्षामा उत्तीर्ण मात्रै हुनुभएन, करिब चार हजार परीक्षार्थीलाई उछिन्दै उहाँ सबैभन्दा पहिलो नम्बरमा पर्न सफल हुनुभयो । आयोगले यस वर्ष २८१ पदका लागि खुला विज्ञापन गरेको थियो । परीक्षामा सहभागीमध्येबाट अन्तर्वार्ताका लागि ३९१ जना छनोट भएका थिए । अन्तर्वार्ताबाट छानिएकाहरूको अन्तिम नतिजा गत माघ १६ गते सार्वजनिक गरिएको थियो ।
विद्यालयदेखि नै अब्बल
नागरिकतामा भण्डारीको स्थायी ठेगाना कञ्चनपुर लेखिएको भए पनि उहाँको बसाइ र पढाइ भने चारतिर भयो । उहाँको बुवा गुल्मीबाट कञ्चनपुर बसाइँ सर्नुभएको हो । उहाँको परिवारमा आमाबाबु र एक जना भाइ हुनुहुन्छ । आमाबाबु बेलौरीमै कृषि सामग्रीसम्बन्धी पसल चलाउनुहुन्छ । आफ्नो पढाइ र हरेक योजनामा परिवारको पूर्ण साथ रहेको भण्डारी बताउनुहुन्छ । कञ्चनपुरमै जन्मिएकाले नर्सरी र एलकेजी स्थानीय सिद्धार्थ बोर्डिङ स्कुलमा पढ्नुभयो । त्यसपछि बुटवलको मणिग्रामस्थित न्यु इन्भाइरोमेन्ट सेकेन्डरी स्कुलबाट एसईई (त्यतिखेर एसएलसी) उत्तीर्ण गर्नुभयो । दस जोड दुई काठमाडौँको केएमसी स्कुलबाट पूरा गर्नुभयो । स्नातकको पढाइमा भने कृषि विषय रोज्नुभयो । त्यसका लागि चितवन रामपुर कृषि क्याम्पस रोज्नुभयो । स्नातकोत्तर तहको पढाइ त्रिभुवन विश्वविद्यालयबाट पूरा गर्नुभयो । त्रिविबाट नै अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा पनि उहाँले स्नातकोत्तर तह पढिरहनुभएको छ । यस तहको शोधपत्र मात्रै बाँकी छ । उहाँ पढाइमा कक्षाभित्र सधैँ उत्कृष्ट पाँचभित्र पर्नु हुन्थ्यो तर उहाँले आफू आबद्ध शैक्षिक संस्थाले आयोजना गर्ने सामान्य ज्ञानसम्बन्धी प्रतियोगितामा कहिल्यै दोस्रो हुनु परेन । अर्थात् उहाँ हरेक प्रतिस्पर्धामा सधैँ प्रथम नै हुनुहुन्थ्यो ।
पढ्ने तरिका
इन्स्टिच्युट चलाउँदै गर्दा एकाएक लोकसेवा तयारी गर्ने चाहना आएपछि उहाँ सुरुमा कलङ्की आएर बस्नुभयो तर उक्त क्षेत्र अपायकजस्तो लागेपछि मैतीदेवी क्षेत्रमा गएर बस्न थाल्नुभयो । “लोकसेवासम्बन्धी तयारी कक्षा हुने र यो विषयमा छलफल हुने क्षेत्र बागबजार, पुतलीसडक, डिल्लीबजार, अनामनगर र मैतीदेवी नै हो जस्तो लागेर मैतीदेवीमा बस्न थालेको हुँ,” पढाइबारे उहाँ भन्नुहुन्छ, “कोठामा एक्लै बस्थेँ । मन लाग्दा खाना आफैँ पकाउँथे । पढ्दापढ्दै खाना पकाउन भ्याइएन वा अल्छी लाग्यो भने अन्यत्रै गएर खान्थेँ । सुरुको छ महिना त पूर्ण रूपमा भूमिगतजस्तै भएर पढेँ । त्यही पढाइको आधारमा परराष्ट्र सेवामा आवेदन दिएँ तर त्यतिखेर थोरै पद भएका कारण नाम निस्केन,” उहाँ भन्नुहुन्छ । परराष्ट्र सेवामा नाम ननिस्के पनि लोकसेवाका लागि आवश्यक तयारी आफूले त्यतिखेरै पूरा गरिसकेको जस्तो लाग्थ्यो उहाँलाई किनभने सामान्यतया लोकसेवाको त्योभन्दा अघिल्ला वर्षमा सोधिएको प्रश्न उहाँलाई कुनै पनि नौलो लाग्दैनथ्यो । मुलुक र विश्वमा दिन प्रतिदिन विकसित भएका नयाँ परिवेशबाहेक जानकारी नभएका अन्य विषय विरलै हुन्थ्यो उहाँका लागि । परराष्ट्र सेवाको परीक्षामा पनि समय व्यवस्थापन गर्न नसक्दा केही प्रश्नको उत्तर जानेर पनि हल गर्न नसकिएकाले नाम ननिस्केको हो कि जस्तो लाग्छ उहाँलाई ।
एक पटक नाम ननिस्के पनि तयारीलाई उहाँले निरन्तरता दिँदै जानुभयो । तयारीका क्रममा कहिलेकाहीँ बिहान ५ बजेदेखि बेलुका ९ बजेसम्म पनि निरन्तर पढिरहनुहुन्थ्यो तर पढाइको बीचमा १०÷१५ मिनेट आराम गर्ने र आवश्यकताअनुसार सुत्ने पनि उहाँको बानी थियो । पुस्तक पढ्दा दिक्क लाग्यो भने सिकाइलाई नै सहयोग पुग्ने गरी त्यस्ता सामग्रीको भिडियो हेर्ने, स्क्रिन सट लिएर राख्नेलगायतका क्रियाकलाप उहाँ गर्नुहुन्थ्यो । जसका कारण पढाइमा दिक्क पनि नलाग्ने र सिकाइलाई पनि सहयोग पुग्ने गथ्र्याे तर जहिले पनि पढ्दा आफूले बुझेर मात्रै पढ्ने गर्नुहुन्थ्यो । जुन कुरा बुझेर पढिन्छ, त्यो कुरा कहिल्यै बिर्सिंदैन भन्ने उहाँको ठम्याइ छ ।
लोकसेवाको तयारीमा लागेका तथा स्कुल–क्याम्पसमा पढेका विद्यार्थीलाई उहाँको सुझाव छ, “जे पढे पनि हुन्छ । जहिले पढे पनि हुन्छ तर बुझेर पढ्नुस् । आफ्ना लागि पढ्नुस् । यदि तपाईंले पढेको कुरा अरूलाई पनि बताउन सक्नुहुन्छ भने त्यो प्रभावकारी हुन्छ । अरूलाई भन्न सक्नुभएन भने त्यो प्रभावकारी हुन्न ।”
भविष्यका योजना
सरकारी सेवामा प्रवेश गरे पनि उहाँले यो सफलतालाई अन्तिम मान्नुभएको छैन । उहाँको योजना जागिर खानुमा मात्रै सीमित छैन । पहिलो नम्बरमा नाम निकाल्नका लागि मात्रै उहाँले पढ्नुभएको थिएन । पहिलो नम्बरमा नाम निस्कन्छ जस्तो पनि लागेको थिएन । उहाँले स्नातकोत्तर तहसम्मको पढाइमा विज्ञानका धेरै पाटा बुझ्नुभयो । अब समाज र राजनीति पनि बुझ्नुपर्छ भन्ने उहाँको ठम्याइ छ । अनि आफूले सकेको योगदान समाज र राष्ट्रलाई दिन सक्नुपर्छ भन्ने भावना उहाँमा छ । रोजगारीमा लागेपछि आफ्ना लागि अझै चुनौती थपिएको र उक्त चुनौतीसँग रमाउनकै लागि यो पेसामा लागेको भण्डारी बताउनुहुन्छ । रोजगारीको भविष्यलाई पनि सोहीअनुसार डो¥याउने उहाँको योजना छ । पैसा मात्रै कमाउने हो भने आफ्ना लागि अन्य प्रशस्तै विकल्प रहेको उहाँको भनाइ छ । पढाइमा त अब्बल हुनुहुन्छ नै, फोटो र भिडियो सम्पादन, ग्राफिक डिजाइनलगायतका काममा पनि उहाँ पोख्त हुनुहुन्छ । यी सबै ज्ञान, अनुभवलाई समेट्दै समग्र जीवन र जगत्को भलाइमा लाग्ने उहाँको योजना छ । उहाँ अहिले अर्थ मन्त्रालयमा कार्यरत हुनुहुन्छ ।
यो समाचार गोरखापत्र मा साभार छ
प्रतिक्रिया दिनुहोस्