हामी सबै सुख, शान्ति, सफलता, सहयोग, सम्मान र स्वास्थ्यको कामना गर्छौं। यसको प्राप्तिका लागि नै परिश्रम, प्रयास र दैनिक कार्य गर्ने गर्छौं। यस क्रममा हामी आ–आफ्नो क्षमता, प्रभाव, शक्ति र समझ अनुसार प्रयास गर्छौं र त्यस्तै प्रगति प्राप्त गर्दछौँ। धेरै कम व्यक्तिले मात्र आफ्नो क्षेत्रमा उच्च सफलता प्राप्त गर्छन्। सफल व्यक्तिले पनि समझ र सन्तुष्टिको उपयोग गरेनन् भने उनीहरूको जीवन सुखी र सन्तुलित हुँदैन।

आफ्नो कार्य गर्ने क्रममा आउने अपमान, अशान्ति, असफलता रुकावट वा तनावलाई प्रबन्धन गर्नका लागि हामी विभिन्न प्रकारका उपाय सिक्छौँ र उपयोग गर्दछौँ तैपनि नकारात्मक कुरा हटाउन सफल भइरहेका हुँदैनौँ।

जब कुनै पनि समस्याको समाधान भइरहेको छैन भन्ने एकपटक आफ्नो ज्ञान, अनुभव र समझको मूल्यांकन गर्नुपर्छ। किनकि आफ्नो माइनस पोइन्ट बुझ्नु धेरै ठूलो प्लस पोइन्ट हुन्छ।

समाधानका क्रममा हामी एउटा ठूलो गल्ती गर्छौं। त्यो के भने सानोसानो समस्या समाधान आफैँ नखोजेर ठुल्ठूला व्यक्ति, प्रोगाम वा ठाउँ–ठाउँमा जान्छौँ। आफ्नो समझ, क्षमता, शक्ति तथा ज्ञानको प्रयोग गर्ने हो भने हामीले धेरै सुखी जीवन बिताउन सक्छौँ। यसका लागि यी पाँचवटा कुरालाई याद राख्यौँ।

१) सहजताः दैनिक जीवनमा धेरै कुरालाई हामीले सहजता र सरलतापूर्वक लियौँ भने मानसिक शान्ति पनि बढ्छ र समयको पनि बचत हुन्छ। तर, अशान्ति र अहंकारका कारण हामीले सरल कुरालाई कठिन बनाइदिन्छौँ। हामीले आफूलाई अरूभन्दा धेरै ज्ञानी, सुन्दर र ठूलो भनेर मात्र हुँदैन, अरूले हामीलाई भन्नुपर्छ।

अहिले सबै मानिस उग्र भइसकेका छन्। आफ्नो मानसिक स्थितिमाथि कसैको नियन्त्रण छैन। कुन बेला कस्तो व्यवहार गर्छ, कसैलाई थाहा छैन। यस कारण जसरी कम्प्युटरमा एन्टी भाइरस लगाउँछौँ, त्यस्तै मनमा पनि बुद्धिमताको एन्टी भाइरस लगाउनुपर्छ। जसले गर्दा कसैको नराम्रो वाणी र व्यवहारले हामीलाई दुःखी र अशान्त गर्न नसकोस्।

२) उच्च समझः जीवन यस्तो जटिल र रहस्यमयी छ कि सामान्य समझले काम हुँदैन। त्यसैले उच्च समझ आवश्यक हुन्छ। जबसम्म हामी एउटा नियम बनाउँदैनौँ, त्यो बेलासम्म सबै कुरा र स्थिति असन्तुलित रहन्छ। यस असन्तुलनले गर्दा सबै कुरा अस्तव्यस्त रहन्छ। याद राख्नु होला, नियम छैन भने जीवन छैन। सरकारले जस्तै नियम बनाएर हामीले त्यसलाई पालना गर्नुपर्छ। सुरुमा कठिन लाग्छ तर पछि बिस्तारै एकदमै सजिलो लाग्न थाल्छ।

प्रतिकूल परिस्थितिलाई सहज बनाउन हामीले तीनवटा ‘एफ’को सिद्धान्त याद राख्नुपर्छ– फाइट (लड्नु), फ्लो (बग्नु), फ्ली (हट्नु)।

लड्नुः सामान्य तौरमा प्रतिकूलतामा मान्छे फाइट गर्छ। फाइट तीन थरीको हुन्छ। शारीरिक, वादविवाद वा मानसिक। फाइट कुनै पनि होस् दुःखदायी र नोक्सान देहलाई हुन्छ। यस कारण फाइट कुनै पनि हालतमा गर्नु हुँदैन।

बग्नुः  एउटा आसान उपाय छ, बग्नु। जुन स्थिति छ राम्रो वा नराम्रो, त्यसलाई स्वीकार गर्ने र त्यसैमा बग्ने। किनकि यो सरल र उपयोगी उपाय छ। कुनै नकारात्मक भावलाई अस्वीकार ग¥यौँ भन्ने तनाव र अशान्तिको महसुस हुन्छ। जसमाथि हाम्रो नियन्त्रण छैन, त्यसलाई स्वीकार गर्नेबाहेक केही उपाय छैन।

हट्नुः तेस्रो बाटो पनि छ, हट्नु। अर्थात् त्यहाँबाट अर्को ठाउँ गइदिने।

३) धैर्यताः आध्यात्मिक यात्रा होस् वा सांसारिक, दुवैमा धैर्य आवश्यक हुन्छ। हुन त सबै मान्छे भन्छन् कि आध्यात्मिक यात्रा धेरै कठिन छ। तर मेरो विचारमा सांसारिक यात्रा धेरै कठिन छ। जब असन्तुलनले गर्दा मनको विचार र भाव दुवै अस्तव्यस्त हुन्छ, त्यो बेला धैर्य विशेष रूपमा आवश्यक हुन्छ। अशान्तिमा तपाईं आफ्नो क्षमताको राम्रो उपयोग गर्न पाउनुहुन्छ। जसरी फलाम कठोर हुँदा मात्रै बलियो रहन्छ, पग्लिएपछि बलियो रहँदैन। त्यस्तै धैर्य नहुँदा तपाईंको क्षमताको मूल्य रहँदैन।

आत्म मूल्यांकन

एउटा कलेजको प्रोफेसरले चारवटा विद्यार्थीलाई प्रयोगशालामा बोलाए र भने– ध्यानपूर्वक हेर्नुस् र म जे जे गर्छु त्यही गर्नुस्। त्यहाँ एउटा बिरालो पल्टिरहेको थियो। प्रोफेसरले एउटा औँलाले बिरालोको जिउ चलाएर जिब्रामा लगाए, विद्यार्थी पनि त्यस्तै गरे। प्रोफेसरले भने– तपाईंहरूले मैले गरेजस्तै गर्नुभएन। किनकि मैले चोर औँलाले बिरालो चलाएँ र माझी औँला जिब्रामा लगाएँ, तर तपाईंहरू जुन औँलाले बिरालोको जिउ छुनुभयो, त्यही औँला जिब्रामा लगाउनुभयो।

कम समयमा धेरै कार्य गर्ने उद्देश्यका कारण हामीले राम्रो तरिकाले काम गर्न सक्दैनौँ। हतारमा र होस नपुर्‍याई काम गर्दा गल्ती हुन पुग्छ। जहिले पनि हाम्रो मनले भविष्यको योजना बुनिरहन्छ। यस कारण हामी आफ्नो समझ, ज्ञान र शक्तिको राम्रोसँग उपयोग गर्न पाउँदैनौँ। यसकारण शान्तिपूर्वक आफ्नो कमी–कमजोरी मूल्यांकन गरेर कार्य गर्ने बानी बसाल्नुपर्छ।

माइन्ड म्यानेजमेन्ट ध्यानः यो अति प्राचीन ध्यान विधि हो। यसलाई परिष्कृत गरेर वर्तमान समयका मानिसका लागि बनाइएको छ। यसका लागि १५ मिनेटसम्म पद्मासन, सुखासन वा सिद्धासनमा बस्नुस्। आँखा बन्द गरी शरीरलाई शिथिल गरेर तथा हातका औँला एक अर्कामा अड्याएर बस्नुस्। ओठ बन्द रहन्छ, तर जिब्रालाई तालुमा टाँस्ने, त्यसपछि सारा ध्यान त्यसै जिब्राको टुप्पोमा लगाई राख्ने र बिस्तारै लामो र गहिरो सास लिने र छाड्ने गर्नुस्। मात्र १५ दिनमै यसको प्रभाव र लाभ हेर्न सक्नुहुन्छ।