सत्तारुढ नेकपा (एकीकृत समाजवादी)ले एमसीसीको सम्बन्धमा उठेका आशंकाहरुको निवारण व्याख्यात्मक घोषणाले गरेकाले त्यसको अनुमोदनको पक्षमा उभिएको बताएको छ।

मंगलबार एकीकृत समाजवादीले पत्रकार सम्मेलन गर्दै एमसीसीको सम्बन्धमा उब्जिएका आशंकाहरुको निवारण अमेरिकाले गरेको र व्याख्यात्मक घोषणाले पनि यसबारेका भ्रमहरुलाई स्पष्ट पारेकाले एमसीसी अनुमोदनको पक्षमा उभिएको जनाएको हो।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष माधवकुमार नेपालले अमेरिकाले एमसीसी सम्झौता इन्डोप्यासिफिक रणनीतिको हिस्सा नभएको स्पष्ट पारेसँगै एमसीसी अनुमोदन गरिएको बताए। उनले प्रमुख प्रतिपक्ष दल एमालेले एमसीसी सम्झौतालाई आफैले संसदमा अगाडी बढाए पनि तत्कालिन प्रधानमन्त्री ओली र ओली नेतृत्वका मन्त्रीहरुले यसबारेमा विवाद सिर्जना गरेको आरोप पनि लगाए।

अध्यक्ष नेपालले एमसीसी सम्झौतासँगै संसदबाट पारित गरिएको व्याख्यात्मक घोषणाले कानूनी मान्यता पाउने बताए। नेकपा (एमाले)को समेत सम्झौतामा औपचारिक विरोध नभएकाले सम्झौता दुई तिहाइभन्दा बढी मतले पारित भएको उनको दावी थियो। सम्झौता अनुमोदन पछि अमेरिका र छिमेकी राष्ट्र चीनको समेत सकारात्मक प्रतिक्रिया आएकोे उनले बताए। जनतामा एमसीसीबारे भएका भ्रमहरुको व्याख्यात्मक घोषणाले प्रष्ट पारेको उनले बताए।

उनले अमेरिकाका तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालका तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई ट्रयापमा पारेर नेपाललाई चीन विरोधी क्रियाकलाप सञ्चालन गराउन खोजेको पनि बताए। अमेरिकामा राष्ट्रपति परिवर्तन भएसँगैँ आफूहरुले निरन्तर कुरा उठाएसँगै नेपाललाई इन्डोप्यासेफिक रणनीतिबाट हटाइएको उनले दाबी गरे।

सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिदैँ अध्यक्ष नेपालले आफूहरु सभामुख अग्निप्रसाद सापकोटाको राजीनामाको पक्षमा नरहेको स्पष्ट पारे। सभामुखको पक्षमा एकीकृत समाजवादी दृढताको साथमा उभिने उनको भनाई छ। सभामुख सापकोटाले संसदको गरिमा र सांसदहरुको अधिकारको रक्षा गरेको भन्दै उनले सभामुखको राजीनामा गराउने कुरा नचिताउन चुनौती दिए।

उनले नेपालले आगामी दिनमा अन्तर्राष्ट्रिय सन्धि, सम्झौता गर्दा विशेष ध्यान पु¥याउनुपर्ने बताए। सरकार तथा मन्त्रालयका नेतृत्वकर्ताले ध्यान दिदैँ देशप्रेमी, विषयवस्तुको ज्ञान भएको र अनुभवीहरुलाई यस्तो काममा खटाए मात्रै त्रुटी नहुने उनले बताए।

यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो