महानगरीय अपराध महाशाखा काठमाडौँ टोलीले भारतबाट ल्याईएको मदिरा सहित ४जनालाई पक्राउ गरेको छ ।

भारतबाट अवैद्य रुपमा मदिरा भित्र्याएर काठमाडौं उपत्यकामा कारोबार गरेको आरोपमा पर्साको गादी घर भई काठमाडौंको बुढानीलकण्ठ बस्ने ३९ वर्षीय चन्द्र बख्रेलसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

बख्रेलसहित काठमाडौं कागेश्वरीमनहरा नगरपालिका वडा नम्बर ६ का ३० वर्षीय शैलेश पन्त, पर्साको सुवर्णपुर घर भई काठमाडौंको हाँडीगाउँ बस्ने २८ वर्षीय रविन पाख्रीन र सर्लाहीको बरहथवा नगरपालिका– वडा नम्बर ९ घर भई चाबाहिल बस्दै आएका ३८ वर्षीय नारायणप्रसाद घिमिरे पक्राउ परेको महाशाखाले जनाएको छ ।

काठमाडौंको रामकोट, बानेश्वर र कपन क्षेत्रबाट नक्कली रेड लेबल, चिभास र अस्सुलुट भोड्का गरि २सय ९६ कार्टुन मदिरा बरामद गरिएको हो भने बरामद गरिएको मदिराको बजार मूल्य एक करोड ५० लाख रुपैयाँ बराबर रहेकोे छ ।

प्रहरीका जानकारी अनुसार बरामद मदिराको गुणस्तर समेत परीक्षणका लागि पठाएको छ ।

भारतीय र नेपाली नागरिक मिलेर भारतबाट अबैध मदिरा नेपाल भित्र्याउने गरेको प्रहरीको अनुमान छ भने सो मदिराहरू पार्टी प्यालेसमा बढी बिक्री गर्ने गरेको खुलेको छ ।