डोको, डालो, थुन्से, नाङ्लो, भकारी, चित्र, घुम लगाएतका सामाग्री गाउँघरमा चलनचल्तीमा आइरहने सामाग्री हुन् । बास र निगालोको मसिनो कप्टेरा तथा चोयाबट बनाइने यस्ता सामग्री गाउँघरमा अत्यावश्यक बस्तुभित्र पर्छ । तर, हिजोआज यी सामग्री निर्माण गर्ने मानिसहरू गाउँघरमा कमै मात्रामा पाइन्छ ।

भीमेश्वर नगरपालिका–४ जिलु, सुप्लुङ्गाका भोजबहादुर नगरकोटीले यी सामग्री बुन्न ३७ वर्ष अघि सिक्नुभएको थियो । दैनिक जीवनमा चाहिरहने डोको, डालो, थुन्से २०४२ सालमा चरिकोटस्थित हाटबजारमा एक महिनसम्म धाउदा पनि नपाएपछि करिब दुई महिना लगाएर सिकेको उहाँ बताउनुहुन्छ ।

‘त्यस समय सुस्पाको थामी समुदायले चरिकोटको हाटबजारमा बिक्रीवितरण गर्न ल्याउथे । तर, म हाट पुग्दा अरुले उठाइसक्थे ।’ भोजबहादुरले भन्नुभयो, ‘कृषि पेशमा आफूलाई चाहिरहने सामग्री हाटबजारमा नपाएपछि कित्तिक र मंसिरसम्म किनेर ल्याएको डोको हेर्दै सिके र पुसदेखि त राम्रैसँग डोको बुन्न थाले ।’

६३ वर्षीय नगरकोटीले अहिले डोको, थुन्से, भकारी लगायतको धेरै सामग्री निर्माण गरि बिक्री वितरण गर्दै आउनुभएको छ । गाउँमा यस्ता सामग्री बनाउनेहरु कम रहेकाले माग उच्च रहेको छ ।
गाउँघरमा घाँसदाउरा, मल, अन्न तथा फलफुल बोक्न डोको र थुन्सेको माग बढि रहेको उहाँले बताउनुभयो ।

डोको दिनमा दुई वटासम्म र थुन्से तथा भकारी एउटा निर्माण गर्न सकिने उहाँले बताउनुभयो । डोको हाल बजारमा चार सय, थुन्से तीन सय र भकारी आठ सय रुपियाँसम्म बिक्री हुने गर्छ ।

वडा नम्बर–४ जिलु, डाँडागाउँका ७६ वर्षीय अक्कलबहादुर कुमालले पनि लामो समयदेखि डोको, थुन्से निर्माण गर्दै आउनुभएको छ । घरायसी प्रयोजन र नजिकको छिमेकीको लागि मात्रै डोको, थुन्से निर्माण गर्ने गरेको बताउँदै उहाँले भन्नुभयो, ‘यस्तो काम युवाहरुले नजानेको र सिक्ने प्रयास समेत नगरेकोले चिन्ता बढेको छ ।’

यी सामग्रीहरुको माग उच्च रहेको र निर्माणपछि राम्रै आम्दानी हुने भएपनि युवाहरुले यो काममा चासो दिएको पाइदैन । करिब एक हजार घरधुरी रहेको जिल्ला कृषि तथा पशुपालनको मुख्य केन्द्र भएपनि कृषि कर्मका लागि अत्यावश्यक सामग्री निर्माणमा कसैले पनि चासो दिएका छैनन् ।

वडा नम्बर–४ का वडा अध्यक्ष हरिवंश चौलागाईंले भने कृषिसँग सम्बन्धित सबै कार्यमा सहयोग गरेको भएपनि यस काममा जनसमुदायको समेत चासो नभएकोले छुट्टिएको बताउनुभयो । उहाँले आगामी दिनमा यस्ता सामाग्री निर्माण गर्न तालिम सञ्चालन गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो