जहाजसँग बदेल ठोक्किएपछि अवरुद्ध बनेको नेपालगन्ज विमानस्थल सञ्चालनमा आएको छ। नेपालगन्जबाट हुम्ला, सिमकोटका लागि उड्न लागेको ९एन–एएचबी नम्बरको जहाजसँग मंगलबार बिहान तीन वटा बदेल ठोक्किएका थिए। जहाजमा ठोक्किएर बदेलको मासु धावन मार्गभरी छरिएपछि बिहान करिव ७ बजेदेखि डेढ घण्टासम्म विमानस्थलको सम्पूर्ण उडान बन्द गरिएको थियो।

नेपालगन्ज विमानस्थल कार्यालयका प्रमुख सुवास झाले बिहान ७ बजेदेखि ८ बजेर ३० सम्म विमानस्थल अवरुद्ध भएको र अहिले सञ्चालनमा आइसकेको जानकारी दिए। विमानस्थल सञ्चालन भएपछि काठमाडौंबाट बुद्ध, श्रीएयर लगायत कम्पनीका जहाज नेपालगन्ज आएर पनि काठमाडौंँ उडेको उनले बताए।

प्रमुख झाकाअनुसार मंगलबार बिहान करिव ७ बजेतिर चालक दलका सदस्यसहित १७ जना सवार उक्त जहाज हुम्लाका लागि सिता एयरको उक्त जहाज उड्ने तयारीमा थियो। धावन मार्गमा गुडिरहेका बेलामा जहाजको चक्कामा समस्या आएको जस्तो भएपछि पाइलटले जहाजलाई उड्नबाट रोकेर दुर्घटना हुनबाट जोगाएका थिए। जहाजमा रहेका चालक दलका सदस्यसहित सबै यात्रु सकुशल रहेको र उक्त जहाजको उडान रद्ध भएका कारण यात्रुहरु घर फर्किएको विमानस्थल कार्यालयले जनाएको छ।

जहाज रोकेर हेर्दा घटनास्थलमा तीन वटा बदेल टुक्रा–टुक्रा परेको अवस्थामा फेला परेका थिए। बदेलको मासु धावन मार्गभरी छरिएका कारण बिहान पानीले धोएर सफा गरिएको विमानस्थल कार्यालय प्रहरी इन्चार्ज, एवम् प्रहरी नायव निरीक्षक (सई) सन्तोष शाहले बताए।

‘धावनमार्ग भरी मासु र रगत थियो, बिहान दमकलको पानीले सफा गर्‍यौँ,’उनले भने, ‘जहाजलाई पार्किङ क्षेत्रमा ल्याएर राखेका छौँ करिब डेढ घण्टा जति अवरुद्ध रहेको विमानस्थल सञ्चालनमा आइसकेको छ।’जहाजसँग ठोक्किएका बदेललाई कानुनी प्रक्रिया पुरा गरी गाडिएको शाहले बताए।

विमानस्थलमा धेरै झाडी र बुट्यान भएका कारण बेला बेलामा बदेल जहाजसँग ठोक्किने घटना दोहोरिदै आएको छ। विमानस्थलमा कार्यरत सुरक्षाकर्मीकाअनुसार त्यहाँ बदेल, खरायो, दुम्सी, स्याल लगायतका वन्यजन्तुको बासस्थान रहेको छ।