विगत दुई सातादेखि काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर उठ्न नसक्दा घर–घरमै फोहोर थुप्रिन पुगेको छ भने चोक–चोकमा फोहोरको थुप्रो लागेको छ ।

नौ वर्षसम्म पनि सडक निर्माण नभएको भन्दै तारकेश्वर नगरपालिका मुड्खु–तीन पिप्लेका स्थानीयले झन्डै दुई साता सडक रोकेर अवरोध गरेपछि काठमाडौं उपत्यकामा फोहोर उठ्न सकेको थिएन ।

काठमाडौंको फोहोर उठ्न अझै एक साता

सरोकारवाला निकायले मुड्खु–तीन पिप्लेका स्थानीयसँग सडक निर्माण तत्काल गर्ने प्रतिबद्धता जनाएपछि सडक अवरोध भने खुलेको छ । सडक अवरोध खुलेर काठमाडौं उपत्यकाको फोहोर उठाउन सुरु गरे पनि थुप्रिएको सबै फोहोर उठाउन अझै एक साता लाग्ने देखिएको छ ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले तत्काल सडक बनाउने सहमतिसँगै काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर उठाउन सुरु गरिएको बताएका छन् । ‘फोहोर उठाउन सुरु भएको छ, थुप्रिएको पुरै फोहोर उठाउन अझै एक साता लाग्न सक्छ’ उनले राजधानीसँग भने ।

ठेक्का लागेर पनि विगत नौ वर्षदेखि पासाङ ल्हामु राजमार्गअन्तर्गत मुड्खु–तीनपिप्ले सडकखण्ड पिच नभएपछि स्थानीयले गत १ फागुनदेखि सवारी आवागमन ठप्प पारेर फोहोर उठाउन अवरोध सिर्जना गरेका थिए ।

स्थानीयको आन्दोलनका कारण काठमाडौंको फोहोर सिसडोल लैजान रोकिएको थियो । जसका कारण १५ सय फोहोर भरिएका गाडी काठमाडौं उपत्यकामै थन्किन पुगेका थिए ।

लामो समयदेखि काठमाडौं, ललितपुर र भक्तपुरमा फोहोर थुपिँ्रदा उपत्यका दुर्गन्धित समेत बन्न थालेको छ ।

यसअघि, सरोकारवाला निकाय र स्थानीयबीच गत मंगलबार माग सम्बोधन गर्ने विषयमा छलफल भएको थियो । महानगरपालिकालगायत सरोकारवालाले स्थानीयलाई सडक पिच गर्न आश्वस्त पार्न नसकेपछि वार्ता विफल भएको थियो ।

स्थानीयको आन्दोलनसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ र सडक विभागका महानिर्देशक शिवहरि सापकोटाले त्यस क्षेत्रको अनुगमन गर्दै तत्काल काम थाल्न ठेकेदारलाई निर्देशन दिएका थिए । लगत्तै ठेकेदार कम्पनीले सडक पिच गर्न सक्रियता देखाएको छ ।

पासाङ ल्हामु राजमार्गमा पर्ने उक्त सडकखण्ड करिब ९ वर्ष अगाडि ठेकेदार कम्पनी शैलुङ कन्स्ट्रक्सनले पिच गर्ने ठेक्का पाएको थियो । करिब ६ किलोमिटर सडक विगत ९ वर्षको अवधिमा पनि ठेक्का पाएको शैलुङले पिच नै नगरेको पाइएको छ ।

स्थानीयले सो क्षेत्रमा ठेकेदार कम्पनीका मालिक शारदाप्रसाद अधिकारीको फोटो नै राखेर छिटो पिच गर्न दबाब दिएका थिए ।

विगत १६ वर्षदेखि नुवाकोटको सिसडोलमा काठमाडौं, ललितपुरलगायत ठाउँको फोहोर फालिँदै आएको छ ।

सरकारले दिगो रूपमा फोहोर व्यवस्थापन गर्न नुवाकोट–धादिङ सिमानामा रहेको बन्चरेडाँडामा ल्यान्डफिल साइट बनाउँदै आए पनि ढिलासुस्तीका कारण अझै निर्माण सम्पन्न हुन सकेको छैन ।

यो समाचार राजधानिबाट साभार गरिएके हो