अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको व्याख्यात्मक घोषणासँगै संसद्बाट पारित गर्ने निष्कर्षमा पुगेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टीभित्र असन्तुष्टि देखिएको छ ।

एमसीसी व्याख्यात्मक घोषणासँगै संसद्बाट पारित गर्न पाँच दलीय गठबन्धनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सहमति गरेका थिए । एमसीसी पारित गर्ने सहमतिसँगै दुवै दलको बसेको छुट्टाछुट्टै स्थायी कमिटी बैठकमा नेताले असन्तुष्टि व्यक्त गरेका छन् ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, लिलामणि पोखरेल, गिरिराजमणि पोखरेल, अञ्जना विशंखे, रेखा शर्मालगायतका नेताले बैठकमा असन्तुष्टि पोखेका थिए । अध्यक्ष दाहालले पाँच दलीय गठबन्धनमा व्याख्यात्मक घोषणासँगै एमसीसी संसद्बाट पारित गर्ने बैठकलाई जानकारी गराउनासाथ उनीहरूले आपत्ति जनाएका थिए ।

‘एमसीसी सम्झौता व्याख्यात्मक घोषणा गरेर स्वीकार गर्न सकिँदैन । एमसीसी सम्झौतामा रहेका सर्त संशोधन नगरी व्याख्यात्मक घोषणा गरेर स्वीकार गर्नु पार्टी, देश र जनताको हितमा छैन,’ पार्टी बैठकमा पोखरेलले भने ।

माओवादी केन्द्र सुरुदेखि नै एमसीसी सम्झौताको विपक्षमा उभिँदै आएको थियो । एमसीसी सम्झौताका केही सर्त संशोधन नगरी यथास्थितिमै स्वीकार नगर्ने पक्षमा उभिएको माओवादी व्याख्यात्मक घोषणा गरेर स्वीरकार गर्ने निष्कर्षमा पुगेको थियो ।

बैठकमा अध्यक्ष दाहालले आफूले व्याख्यात्मक घोषणा गरी एमसीसी संसद्बाट पारित गर्दा एमसीसी सचिवालयले त्यसलाई ग्रहण गर्नुपर्ने बताए । व्याख्यात्मक घोषणामा समेटिएका विषय स्वीकार नगरिए सोहीअनुसार अगाडि बढ्ने उनको भनाइ थियो ।

यस्तै, एकीकृत समाजवादी पार्टीभित्र समेत असन्तुष्टि देखिएको छ । अध्यक्ष माधवकुमार नेपालले व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्न लागिएकाले नेपालको कानुनमाथि हुने बताए । तर, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, मेटमणि चौधरीलगायतका नेताले व्याख्यात्मक घोषणासहित एमसीसी स्वीकार गर्नु आपत्तिको विषय भएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

व्याख्यात्मक घोषणापश्चात् एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको एकीकृत समाजवादीभित्र असन्तुष्ट नेतालाई मनाउन अध्यक्ष नेपाललाई हम्मेहम्मे परेको थियो ।

नेता खनालले एमसीसी संसद्बाट अनुमोदन भएमा चीनलाई असर पर्ने टिप्पणी गरेका थिए । ‘चीन राइज गर्दै छ । चीन राइज भएकोमा अमेरिका आपत्ति गर्दै छ,’ खनालले भने, ‘चीनको राइज (उदय)लाई कसरी रोक्ने भन्ने चिन्ता छ ?

अमेरिकाले एमसीसीका माध्यमबाट नेपालमा राजनीति गर्न खोजेको पनि खनालले टिप्पणी गरे । एमसीसीलाई यथास्थितिमै संसद्बाट पारित गर्नु नेपाल, नेपाली जनताको हितमा नभएको उनले बताए । एमसीसीमा रहेका सर्त संशोधन नगरी व्याख्यात्मक घोषणासँगै पारित गर्नु आपत्तिको विषय भएको उनले बताए ।

एकीकृत समाजवादीका सांसद समेत रहेका चौधरीले एमसीसी सम्झौता आर्थिक सहयोग मात्रै नभएर सैन्य रणनीति पनि जोडिएको भन्दै यसलाई अस्वीकार गर्नुपर्ने बताएका थिए । अमेरिकी आधिकारीले नै एमसीसी सैन्य रणनीतिअन्तर्गगत भनेकाले एमसीसी के हो भन्ने घामजत्तिकै छर्लंग भएको टिप्पणी चौधरीको थियो ।

यो समाचार राजधानिबाट साभार गरिएके हो