फागुन १५ गतेको प्रतिनिधिसभा बैठकले अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना अनुमोदन ग¥यो। एमसीसी अनुमोदन भए पनि सत्ता गठबन्धनमा सहभागी नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) भित्र एमसीसी सम्बन्धमा मतभेद कायमै छ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एमसीसी विरोधी नेतासँगको भेटलाई तीव्रता दिनुभएको हो। केही शीर्षनेताको विरोधबीच एमसीसी अनुमोदन भएपछि विप्लवले सत्ताधारी र प्रमुख प्रतिपक्षी दलका शीर्षनेतासँगको भेटलाई तीव्रता दिनुभएको हो।

बुधबार बिहान नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसँग भेट गर्नुभएका विप्लवले बिहीबार दिउँसोसम्म एमसीसी विरोधी सत्ता साझेदार र प्रतिपक्षी दलका गरेर पाँच नेतासँग छलफल गरिसक्नुभएको छ।

एमसीसी अनुमोदन भएपछि माओवादीभित्र असन्तुष्ट नेता श्रेष्ठसँग विप्लवले बुधबार (फागुन १८ गते) बिहान हात्तीवनमा भेट गर्नुभएको हो। बुधबार नै विप्लवले भक्तपुर पुगेर नेपाल मजदुर किसान पार्टी (नेमकिपा) अध्यक्ष नारायणमान बिजुक्छेसहितका शीर्षनेताहसँग छलफल गर्नुभयो। विजुक्छेसँग विप्लवले एमसीसी विरोधी कार्यक्रमका सन्दर्भमा छलफल गर्नुभएको हो।

सत्ताको प्रमुख साझेदार एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालसँग विप्लवले बुधबार नै भेटवार्ता गर्नुभएको हो। डल्लु पुगेर विप्लवले पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका खनालसँग भेटवार्ता गर्नुभएको हो। खनालसँगको भेटमा विप्लवले एमसीसी राष्ट्रहितमा नभएकाले राष्ट्रवादी शक्ति एक हुनुपर्नेमा जोड दिनुभएको थियो।

बिहीबार रावल र महरासँग भेट

बुधबारदेखि भेटवार्तालाई तीव्रता दिनुभएका विप्लवले बिहीबार प्रतिपक्षी दल एमालेका नेता भीम रावल र माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरासँग भेट गर्नुभएको छ।

रावलसँग विप्लवले एमसीसी खारेज गर्नुपर्ने विषयमा छलफल गर्नुभएको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य असल क्षेत्रीले जानकारी दिनुभयो। बिहीबार नै महरासँग छलफल भएको क्षेत्रीले बताउनुभयो। एमसीसीविरुद्ध राष्ट्रवादी क्रान्तिकारी एक भएर लड्ने र आन्दोलनको बलमा यसलाई खारेज गर्ने विषयमा नेताहरुसँग छलफल भएको क्षेत्रीले बताउनुभयो।

विप्लवले गर्नुभएका राजनीतिक भेटवार्तामा एमसीसीविरुद्धको आन्दोलनमा राष्ट्रवादी क्रान्तिकारी एक भएर लडने र आन्दोलनको बलमा खारेजको स्तरमा पुर्याउने, क्रान्तिकारी ध्रुवीकरणलाई निष्कर्षमा पुर्याउने विषयमा केन्द्रित छ’, क्षेत्रीले भन्नुभयो, ‘जनताको आमूल परिवर्तनको आकांक्षालाई ध्यान दिएर समाजवादी व्यवस्था निर्माणको पहल गर्ने विषयमा छलफल भयो।’

एमसीसी पारित भएको विरोधमा विप्लवसहित आठ दलले फागुन २० गतेदेखि चैत ६ गतेसम्म विरोधका कार्यक्रम घोषणा गरेका छन्। विप्लवसहित मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल), मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तीकारी माओवादी), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, नेकपा माओवादी समाजवादी लगायतका आठ दलले विरोधका कार्यक्रम सार्वजनकि गरेका हुन्। संयुक्त विज्ञप्तिमा फागुन २० देखि चैत ६ गतेसम्मको एमसीसी विरोधी कार्यक्रम सार्वजनिक गरिएको छ। त्यसअघि विप्लवले सत्तारुढ र प्रतिपक्षी दलका शीर्षनेतासँगको भेटलाई महत्वका साथ हेरिएको छ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो