हेटौंडा । हेटौंडा–८,कमानेस्थित कमाने क्रिकेट क्लबको आयोजनामा जारी चौंथो संस्करणको कमाने प्रिमियर लिग क्रिकेटमा कमाने राइडर्सले लिगको ४ खेल खेलेर ३ जीत निकालेको छ । बिहीबार हेटौंडा–८,स्थित चन्द्रोदय माध्यमिक विद्यालयको खेलमैदानमा भएको आफ्‌नो चौंथो खेलमा कमाने इप्लानेट ब्लास्टरलाई ५४ रनले पराजित गर्दै ४ खेल खेलेर ३ जीत निकालेको छ ।

पहिले व्याटिङ गरेको कमाने राइडर्सले १८ ओभर ४ बलमा १ सय २५ रन बनाउँदै अल आउट हुन पुगेको थियो । कमाने राइडर्सका लागि विपुल खनालले १७ बलमा र विष्णु राउतले ३२ बलमा समान ३२/३२ रन जोडेका थिए । सुखेन्दु समन्थले १० बलमा १६ रनको योग्दान दिए । बलिङतर्फ कमाने इप्लानेट ब्लास्टरका लागि रिशभ चौधरी र विशाल पटेलले समान ३/३ विकेट लिएका थिए । सरोज यादवले २ विकेट लिएका थिए ।
१ सय २५ रनको लक्ष्य पछ्याएको कमाने इप्लानेट ब्लास्टरले १६ ओभर २ बलमा ७१ रन मात्रै बनाएर अल आउट हुन पुगेको थियो । विजय घलानले २१ बलमा २१ रन, रिशभ चौधरीले ११ बलमा १५ र युवीन बुढाथोकीले ११ बलमा ८ रन बनाएका थिए । बलिङतर्फ कमाने राइडर्सका विष्णु राउतले ४ विकेट र राम नरेश गिरीले २ विकेट लिएका थिए ।

खेलको म्यान अफ द म्याच विष्णु राउत घोषित भएका छन् । प्रतियोगिताको फाइनल खेल शनिबार हुने क्लबका अध्यक्ष किशोर खत्रीले जानकारी गराएका छन् ।

प्रतियोगिताको उपाधि विजेता टिमले १ लाख रुपैयाँ र उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताका लागि मुख्य प्रायोजकको रुपमा हेटौंडा–४,स्थित हेटौंडा स्कूल अफ म्यानेजमेन्ट सोसिएल एण्ड साइनस रहेको छ ।

रातो समाचार संवाददाता
थप जानकारी