इलाका प्रशासन कार्यालय स्थापनाका लागि माग पत्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउँदै सांसद महेश कुमार बर्तौला ।

हेटौंडा । मकवानपुर–२ का प्रतिनिधि सभा सदस्य तथा नेकपा एमाले संसदीय दलका मुख्य सचेतक महेश कुमार बर्तौलाले मकवानपुरको उत्तरी क्षेत्रमा इलाका प्रशासन कार्यालय स्थापन गर्न प्रधानमन्त्री केपी शर्मा ओली समक्ष माग राखेका छन् । बुधबार सांसद बर्तौलाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर मकवानपुर जिल्लाको उत्तरी क्षेत्र थाहा नगरपालिका, भीमफेदी गाउँपालिका, कैलाश गाउँपालिका र इन्द्रसरोबर गाउँपालिकाका केहि वडाहरूका वासिन्दाहरूले प्रशासनीक सेवाहरू प्राप्त गर्नका लागि आफ्नो समय खर्चेर हेटौंडा आइपुग्न बाध्य भएकोले प्रशासन कार्यालयको स्थापना गर्न माग राखेका हुन् ।

सरकारले भर्खरै मात्र देशका विभिन्न जिल्लाहरूका २३ स्थानमा सरकारी प्रशासनिक सेवाहरू सहज तथा छिटो छरितो ढंगले प्रवाह गर्ने उद्देश्यका साथ इलाका प्रशासन कार्यालयहरू स्थापना गर्ने प्रकृया अगाडि बढाएको सांसद बर्तौलाले प्रधानमन्त्री ओलीलाई स्मरण गराएका छन् । देशका अन्य ठाउँहरुमा इलाका प्रहरी कार्यालय स्थापना गर्ने प्रकृया नेपाल सरकारबाट अगाडि बढेको जस्तै उत्तरी मकवानपुरको क्षेत्र थाहा नगरपालिकामा समेत हजारौं जनताले प्रशासनिक सेवा सुविधा लिनका लागि हाल सम्म भोग्नु परेको असुविधाहरूको अन्त्य गर्दै सहज र सुलभ तरिकाले प्रशासनिक सेवा सुविधा उपलब्ध गराउनको लागि थाहा नगरमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय हुनेगरी प्रकृया अगाडि बढाउन आग्रह गरेका छन् ।

रातो समाचार संवाददाता
थप जानकारी