गृहमन्त्रालयले कसैको बिना अनुमति भिडियो खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेमा कारबाही गरिने जनाएको  छ ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सार्वजनिक स्थलमा अनुमतिबिना कुनैपनि व्यक्तिको प्र्याङ्क भिडियो खिचेर सामाजिक सञ्जालमा प्रकाशन गरेमा गर्नेलाई कारबाही गर्ने जनाएको होे ।

बिभिन्न स्थानमा भिडियो तथा फोटो खिचेर सर्वसाधारण व्यक्तिहरूलाई शारीरिक तथा मानसिक रुपमा सास्ती दिने, क्रियाकलापहरू भइरहेको सुचना आईरहेका कारण विहिबार सह–सचिव /प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वरा हस्ताक्षर गरिएको विज्ञप्ती जारी गरिएको हो ।

विज्ञप्तिमा यस्तो भनिएको छ ।

सार्वजनिक स्थलहरूमा मजाक, ख्यालठट्टा वा मस्करी (Prank) को नाममा सर्वसाधारण व्यक्तिहरूलाई शारीरिक तथा मानसिक रुपमा सास्ती दिने, हैरानी पार्ने र दिक्दार लगाउने जस्ता क्रियाकलापहरू गरी सोको गोप्य भिडिओ तयार गर्ने र उक्त भिडिओ दृश्यांश (Video Footage) सामाजिक सञ्जालहरुमा राख्ने (Upload) कार्यहरू हुने गरेको भन्ने गुनासो तथा सूचना प्राप्त भइरहेको सम्बन्धमा यस मन्त्रालयको ध्यानाकर्षण भएको छ ।
सार्वजनिक स्थलहरूमा गरिएका भद्दा प्रकृतिका ख्यालठट्टाबाट सिकार भएका व्यक्तिमा देखिन सक्ने मानसिक तनाव, उत्पन्न हुन सक्ने वादविवाद र द्वन्द्व, सामाजिक सद्भाव र शान्ति सुव्यवस्थामा पर्न सक्ने नकारात्मक प्रभाव एवं व्यक्तिगत गोपनीयता, प्रतिष्ठामा पर्न सक्ने असर समेतलाई दृष्टिगत गरी व्यक्तिको अनुमति बिना कुनैपनि प्रकारको तस्बिर लिन र सामाजिक सञ्जालमा प्रकाशन गर्न, व्यक्तिलाई जानकारी नै नदिई सम्बन्धित व्यक्तिको अनुमति/सहमति बिना कुनैपनि प्रकारको भिडिओग्राफी गरी सामाजिक सञ्जालहरुमा प्रकाशन गर्ने क्रियालापमा संलग्न जोसुकैलाई प्रचलित कानूनबमोजिम कारबाही हुने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ । ।