हेटौंडा । नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरू र प्रहरी संगठनलाई सहयोग पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मानपत्र, कदरपत्र र पुरस्कार प्रदान गरेका छन् ।

७०औं प्रहरी दिवस–२०८२ का अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित विशेष कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरू र प्रहरी संगठनलाई सहयोग पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मानपत्र, कदरपत्र र पुरस्कार प्रदान गरेका हुन् ।

सोही अवसरमा महानिरीक्षक खापुङ्गले विशेष बढुवाप्राप्त प्रहरी नायव निरीक्षक हेम बहादुर बिक र प्रहरी हवल्दार संगिता अधिकारीलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरेका छन् । राष्ट्र र प्रहरी संगठनको मान–प्रतिष्ठा तथा गौरव बढाउने उत्कृष्ट कार्यसम्पादनका कारण नीति निर्माण समितिको सिफारिसमा उनीहरूलाई एक तह विशेष बढुवाको सिफारिस गरिएको थियो ।

उक्त कार्यक्रममा महानिरीक्षक खापुङ्गले प्रथम महिला प्रहरी सम्मेलन–२०८२ को सन्दर्भमा प्रकाशित “कफी टेबल किताब” को लोकार्पण समेत गरेका थिए ।

त्यसैगरी उनले उत्कृष्ट अनुसन्धानकर्तातर्फ प्रहरी निरीक्षक प्रकाश थापा, अच्युत गिरी, रबि घिमिरे, सरस्वती कार्की, प्रहरी वरिष्ठ नायव निरीक्षक लेखनाथ आचार्य, रमेश कार्की, प्रहरी नायव निरीक्षक पदम शेर्पा, प्रहरी सहायक निरीक्षक अमिर श्रेष्ठ र प्रहरी सहायक हवल्दार कुमार बस्नेतलाई प्रशंसापत्र प्रदान गरे ।

त्यसैगरी ट्राफिक, सामुदायिक सेवा, कार्यालय व्यवस्थापन, व्यावसायिक आचरण, विपद्‌ व्यवस्थापन, तालिम, प्राविधिक सेवा, खेलकुद तथा शिक्षण क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने विभिन्न दर्जाका प्रहरी अधिकृत र जवानहरूलाई समेत पुरस्कार तथा सम्मानपत्र प्रदान गरिएको थियो ।

प्रहरी सेवाप्रति नागरिकको विश्वास, स्नेह र सहयोग नै संगठनको शक्ति भएको बताउँदै महानिरीक्षक खापुङ्गले प्रहरी सेवालाई अझ पारदर्शी, छरितो, प्रभावकारी र नागरिकमैत्री बनाउन निर्देशन दिएका थिए । उनले कानुनको कार्यान्वयन, मानव अधिकारको संरक्षण तथा नागरिकका संविधान प्रदत्त हक–अधिकारको प्रत्याभूति गर्न प्रहरी सधैं सचेत रहनुपर्नेमा जोड दिए ।

समारोहमा प्रहरीका अतिरिक्त महानिरीक्षक, नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरू, आमन्त्रित महानुभाव र प्रहरी कर्मचारीहरूको उपस्थिति थियो।

रातो समाचार संवाददाता
थप जानकारी