हेटौंडा । सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक डम्बर विश्वकर्माले आफ्नो मातहतका प्रहरी प्रमुखहरुसँग वार्षिक कार्यसम्पादनको सम्झौता गरेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा सोमबार एक कार्यक्रमकोबीच प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वकर्माले भर्चुअल उपस्थितिमा चालु आर्थिक वर्ष २०८२।०८३ को लागि “बार्षिक कार्य सम्पदान सम्झौता” मा हस्ताक्षर कार्यक्रम गराएका हुन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया, सुदुरपश्चिम प्रदेश प्रहरी गण धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली, कञ्चनपुर, सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल, सुदूरपश्चिम प्रदेश प्रहरी बिपद व्यवस्थापन गुल्म महेन्द्रनगर, सुदूरपश्चिम प्रदेश प्रहरी बिद्यालय धनगढीका कार्यालय प्रमुखहरुको भौतिक उपस्थिति तथा सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायल, जिल्ला प्रहरी कार्यालय डोटी, अछाम, बझाङ, बाजुरा, दार्चुला, बैतडी र डडेल्धुराका प्रमुखहरुसँग कार्यसम्पादनको सम्झौता गरेको बताइएको छ ।
वार्षिक कार्यसम्पादन सम्झौता हस्ताक्षर कार्यक्रममा मातहत प्रहरी कार्यालयका प्रमुखहरूले उपलब्धिमूलक प्रहरी सेवा प्रदान गर्नका साथै सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउन सम्झौता पत्रमा हस्ताक्षर गरेको बताएका छन् । उनीहरुले आफूले तोकेको लक्ष्य पूरा गर्ने समेत प्रतिवद्दता व्यक्त गरेका छन् ।
प्रदेश प्रहरी प्रमुखले भौतिक तथा भर्चुअल माध्यमद्वारा उपस्थित कार्यालय प्रमुखहरूलाई निर्देशनको क्रममा बार्षिक कार्यसम्पादन सम्झौता नेपाल प्रहरीको काम कारवाहीको मेरुदण्ड समेत रहेकोले सम्झौतालाई बिशेष प्राथमिकता दिएको बताइएको छ । प्रहरीको सेवालाई चुस्त दुरुस्त बनाउन तथा आम नागरिकले प्रत्यक्ष अनुभव गर्ने गरी प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनुका साथै कार्यसम्पादन सम्झौता कार्यालय प्रमुखको कार्यसम्पादन मुल्यांकनको प्रमुख आधार समेत रहेकोले सम्झौता कार्यान्वयनमा सक्रिय भएर लाग्न समेत निर्देशन दिएका छन् ।

















प्रतिक्रिया दिनुहोस्