हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित १ जनालाई पक्राउ गरेको छ । मंगलबार बिहान ६ बजेको समयमा इलाका प्रहरी कार्यालय भीमफेदी र प्रहरीचौकी भैँसेबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले लागूऔषधसहित १ जनालाई पक्राउ गरेको हो ।

भीमफेदी गाउँपालिका वडा नम्बर–२,भैंसे चेकपोष्ट स्थित सडक खण्डमा सवारी साधनहरु सुरक्षा जाँच गर्ने क्रममा पालुङ तर्फबाट हेटौंडा बजार तर्फ जानको लागि आउँदै गरेको बा २ ख ३२१९ नम्बरको भाडा कन्टेनरलाई रोकेर सिन्धुपाल्चोक बाह्रबिशे नगरपालिका वडा नम्बर–८ बस्ने ४१ वर्षीय बीरबहादुर तामाङमाथि शंका लागेर कन्टेनर गाडी समेतको रितपुर्वक खानतलासी गर्दा उक्त कन्टेनर गाडीको पछाडीको डिब्बा भित्र लुकाई छिपाई बिक्री बितरणको लागि ल्याईएको अवस्थामा १२ वटा पोकामा १ सय ५७ किलो १ सय २० ग्राम प्रतिबन्धित लागूऔषध गाँजा फेला पारेको थियो ।

लागुऔषध तथा कन्टेनर गाडी बरामद गरेर चालक तामाङलाई नियन्त्रणमा मकवानपुर जिल्ला अदालत हेटौंडाबाट ला.औ.कसुर मुद्धामा म्याद अनुमती लिइ थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।