ओनसरी घर्तीलाई यहाँ (काठमाडौं–२) बाट निर्वाचित गराउनुस्। उहाँलाई विजयी गराएपछि एउटा राम्रो विकासे मन्त्री पनि बनाएर तपाईंहरूको अगाडि पठाउनेछौं,’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले काठमाडौं–२ का पार्टी उम्मेदवारको पक्षमा मत माग्दै दिएको अभिव्यक्ति हो यो।

मतदातालाई प्रभावित पार्न र पार्टी उम्मेदवारलाई मंसिर ४ को निर्वाचनमा जिताउन पद, प्रतिष्ठा र विकासको आश्वासन दिने दाहाल एक्ला नेता होइनन्। मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न राजनीतिक दल र तिनका नेताले आआफ्नो हैसियतअनुसार विकास निर्माणदेखि पद र प्रतिष्ठाको आश्वासन विगतमा जस्तै यस पटक पनि दिन सुरु गरेका छन्। उम्मेदवार र नेताहरूको हैसियतअनुसार उनीहरूले मत प्रभावित पार्न विभिन्न आश्वासन र पदमा पुग्ने बताउन थालेका हुन्।

संसदीय शासन व्यवस्थामा प्रदेशसभा र प्रतिनिधिसभा सरकार निर्माण गर्ने र मुलुकका लागि आवश्यक पर्ने ऐन, कानुन निर्माण गर्ने थलो हो। तर त्यसविपरीत दल र नेताहरूले मत प्रभावित पार्न ठाउँ हेरी आर्थिक विकास र समृद्धिको नारा, मन्त्री, मुख्यमन्त्री र प्रधानमन्त्रीका रूपमा आफूलाई प्रस्तुत गर्न थालेका छन्। प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेकपा एमालेले निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न प्रधानमन्त्रीका रूपमा अध्यक्ष केपी ओलीलाई अघि सारेको छ। निर्वाचनपछि गठन हुने सरकारको नेतृत्व अध्यक्ष ओलीले नै गर्ने भन्दै एमालेले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा चुनावमा मत माग्दै छ। तर एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि आफूलाई पार्टी र सरकारको नेतृत्व गर्ने सम्भावित नेताका रूपमा मतदातामाझ प्रस्तुत गर्दै आएका छन्। काठमाडौं–५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका पोखरेलसँग कांग्रेसका युवा नेता प्रदीप पौडेल प्रतिस्पर्धामा छन्। एमाले उपाध्यक्षद्वय सुवास नेम्वाङ र विष्णु पौडेल, महासचिव शंकर पोखरेललाई पनि प्रधानमन्त्री र आगामी पार्टीको नेतृत्वका रूपमा मतदातामाझ प्रस्तुत गरिएको छ। नेम्वाङ इलाम–१, पौडेल रूपन्देही–२ र पोखरेल दाङ–२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन्।

एमालेले प्रधानमन्त्रीका रूपमा पार्टीअध्यक्ष ओलीलाई अघि सारे पनि सरकारको नेतृत्व गर्दै आएको कांग्रेसले कसैको नाम तोकेको छैन। निर्वाचनपछि सरकारको नेतृत्व गर्ने अवसर पाए कांग्रेसबाट सभापतिसमेत रहेका वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई नै फेरि अघि सार्ने धेरैको अनुमान छ। तर कांग्रेसका अन्य नेताले भने आफूलाई प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दै निर्वाचन मैदानमा उत्रिएका छन्।

कांग्रेस नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीका रूपमा काम गर्ने इच्छा रहेको बताउँदै आएका छन्। त्यसका लागि आफू तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेको पौडेलको जिकिर छ। कांग्रेस पूर्वमहामन्त्री शशांक कोइरालाले त मंसिर ४ पछि आफू नै प्रधानमन्त्री हुने दाबी गरेका छन्। नवलपुर–१ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्दै कोइरालाले प्रधानमन्त्री बन्ने दाबी गरेका हुन्।

कांग्रेस महामन्त्री गगन थापाले पनि आफूलाई निर्वाचनपछिको प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दै आएका छन्। अबको १० वर्ष मात्र सक्रिय राजनीतिमा रहने बताउँदै आएका थापाले बाँकी समयमा देश, जनता र पार्टी हितमा काम गर्ने बताउँदै आएका छन्। थापा काठमाडौं–४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन्। कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले आफूलाई प्रधानमन्त्री रूपमा त प्रस्तुत गरेका छैनन्।

तर झापा–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए पार्टी महामन्त्री गगन थापालाई प्रधानमन्त्री बनाउन प्रस्तावक बन्ने  सार्वजनिक अभिव्यक्तिसहित चुनावी दौडाहामा निस्केका छन्।

कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहले गत साउनमै आफूले ग्रास रुटदेखि नम्बर टु भएर काम गरिसकेको भन्दै प्रधानमन्त्रीका रूपमा आफूलाई प्रस्तुत गरेका छन्। आफूले अवसर पाए काम गरेर पुष्टि गर्ने धारणा सिंहले राख्दै आएका छन्। तर सिंहले आइतबार आयोजना गरेको पत्रकार भेटघाटमा भने सिंहले निर्वाचनपछि पार्टीको संसदीय दलको बैठकले नै प्रधानमन्त्रीको टुंगो लगाउने बताए। सिंह काठमाडौं–१ बाट उम्मेदवार छन्।

त्यस्तै कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, नेता शेखर कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई पनि प्रधानमन्त्रीका रूपमा मतदातामाझ प्रस्तुत गरिएको छ। खड्का सुर्खेत–१, शेखर तनहुँ–६ र सिटौला झापा–३ बाट उम्मेदवार छन्।

त्यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पटकपटक प्रधानमन्त्री बनेर देशको सेवा गर्ने आफ्नो चाहना रहेको बताउँदै आएका छन्। दाहालले यसअघि दुईपटक प्रधानमन्त्रीको जिम्मेवारी वहन गरिसकेका छन्। अहिलेको गठबन्धन कायमै रहे निर्वाचनपछि दाहालकै नेतृत्वमा सरकार बन्ने माओवादीका नेता तथा कार्यकर्ताले दाबी गर्दै आएका छन्। दाहाल अहिले गोरखा–२ बाट उम्मेदवार छन्। एमालेबाट विभाजित भएर गठित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल पनि प्रधानमन्त्रीका आकांक्षी छन्। नेपाल रौतहट–१ र खनाल इलाम–२ बाट उम्मेदवार बनेका छन्।

प्रतिनिधिसभा सदस्यको परिणाम आफ्नो पक्षमा पार्न मात्र होइन, प्रदेशसभाको निर्वाचनको मत प्रभावित पार्न पनि प्रदेशसभा सदस्यहरू पनि सक्रिय छन्। उम्मेदवारी मनोनयनसँगै प्रदेशका साथै आफ्नो जित सुरक्षित गर्नका लागि प्रमुख दलका विभिन्न उम्मेदवारहरूले आफूलाई मुख्यमन्त्रीका रूपमा प्रस्तुत गर्दै आएका छन्। प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र राई, कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही र मधेसका मुख्यमन्त्री लालबाबु राउतसहित सातै प्रदेशका तीन दर्जन बढी नेता आफूलाई मुख्यमन्त्रीका रूपमा प्रस्तुत गर्दै मत माग्न सक्रिय भएका छन्।

प्रदेश–१ बाट कांग्रेसका अमृत अर्याल, भीम पराजुली र राजीव कोइराला, नेता गुरुराज घिमिरे र केदार कार्की, माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो, एमालेका हिक्मत कार्की र देवराज घिमिरेले मुख्यमन्त्रीका रूपमा प्रस्तुत गर्दै आएका छन्। मधेस प्रदेशमा लालबाबुका साथै लोसपाका जितेन्द्र सोनल, कांग्रेसका प्रदेश सभापति कृष्ण यादव र रामसरोज यादव आकांक्षी छन्।

त्यस्तै वाग्मती प्रदेशमा कांग्रेसबाट प्रदेश सभापति इन्द्र बानियाँ, बहादुर सिंह लामा, कञ्चनचन्द्र बादे, माओवादी केन्द्रका शालिकराम जमकटेल, एमालेका सानु श्रेष्ठ, रामेश्वर फुयाँलसहित नेताले आफूलाई मुख्यमन्त्रीका रूपमा प्रस्तुत गर्दै आएका छन्।

गण्डकी प्रदेशमा एमालेका खगराज अधिकारी, कांग्रेसका सुरेन्द्रराज पाण्डे, विन्दु थापा, माओवादी केन्द्रका हरिबहादुर चुमान, लुम्बिनी प्रदेशमा कांग्रेसका अब्दुल रज्जाक, प्रदेश सभापति अमरसिंह पुनसहित आकांक्षी छन् भने माओवादी केन्द्रका जोखबहादुर महरा, सुदर्शन बराल, वामदेव क्षेत्री, एमालेका वैद्यनाथ चौधरी र लीला गिरी मुख्यमन्त्रीका आकांक्षी रहेका छन्।

कर्णालीमा कांग्रेसबाट शाहीका साथै एमालेबाट यामलाल कँडेल, माओवादी केन्द्रबाट राजकुमार शर्माले मुख्यमन्त्रीका रूपमा आफूलाई प्रस्तुत गर्दै आएका छन्। सुदूरपश्चिमबाट खगराज भट्ट, बहादुरसिंह थापा, दिवानसिंह विष्ट, गोविन्दराज बोहरा, राजेन्द्रसिंह रावल, लालबहादुर थापा र दीर्घबहादुर सोडारीले आफूलाई मुख्यमन्त्रीका रूपमा मतदातामाझ प्रस्तुत गर्दै आएका छन्।

नागरिक न्युजबाट साभारछ