मकवानपुरगढीमा १ लाख राशिको स्व.साइमन योञ्जन स्मृति रनिङ्ग शिल्ड फुटसल प्रतियोगिता हुँदै

हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा स्व.साइमन योञ्जन स्मृति रनिङ्ग शिल्ड फुटसल प्रतियोगिता हुने भएको छ । आगामी असोज ९ गतेदेखि १२ गतेसम्म मकवानपुरगढी गाउँपालिका वडा नम्बर–३, मक्राञ्चुलीस्थित भानु माध्यमिक विद्यालयको फुटसल कोर्टमा पहिलो संस्करणको साइमन योञ्जन स्मृति खुल्ला फुटसल प्रतियोगिता हुने भएको हो । मकवानपुरगढी खेलकुद विकास समितिको आयोजनामा तथा मकवानपुरगढी गाउँपालिकाको सहयोगमा दिवंगत खेलाडीको योगदान सम्झना गर्दै सम्मान गर्नका लागि प्रतियोगिताको आयोजना गर्न लागेको खेलकुदका अध्यक्ष हिराबहादुर स्याङ्तानले जानकारी दिएका छन् ।

गत असोज १२ गते कुलेखानी–सिस्नेरी पहिरोमा परेर ज्यान गुमाएका साइमनको योगदान स्मरण गर्दै आयोजना गर्न लागेको प्रतियोगिता सबै फुटसल खेलाडीहरुले सहभागिता जनाउन पाउने अध्यक्ष स्याङ्तानले बताए । युवा खेलाडीलाई प्रेरित गर्ने, फुटसल/खेलकुदमा नयाँ पुस्तालाई उत्साहित र प्रेरित गर्ने, प्रतिस्पर्धात्मक खेलकुदका माध्यमबाट खेलाडीहरूको प्रतिभा विकास र खेलकुद गतिविधि सक्रिय बनाउने, खेलकुदमार्फत अनुशासन, टीमवर्क, सामाजिक मेलमिलाप र स्वस्थ मनोरञ्जन प्रवद्र्धन गर्ने मुख्य उद्देश्य प्रतियोगिता मार्फत लिएको उनले बताए ।

फुटसल खेल खुल्ला प्रतियोगिताको उपाधि विजेता टिमले एकलाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ६५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याच र विधागत खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता आयोजना गर्नका निम्त्ति गाउँपालिकाले ५ लाख रुपैयाँको बजेट बिनियोन गरेको छ । अयोजकका अनुसार यस प्रतियोगितालाई हरेक वर्ष निरन्तरता दिइने छ ।