हेटौंडा । चौंथो संस्करणको रतनपूरी गोल्डकप फुटबल प्रतियोगितामा मकवानपुरको हेटौंडा फुटबल एकेडेमी सहभागी हुने भएको छ । यही शुक्रबारबाट बारा जिल्लास्थित निजगढ नगरपालिकाको रतनपूरी युनाइटेड क्लबले शुभ दिपावली तथा छठ पर्वको अवसरमा आयोजना गर्न लागेको फुटबल प्रतियोगितामा हेटौंडा फुटबल एकेडेमीको टिम सहभागी हुने भएको हो ।

बुधबार आयोजकले पत्रकार सम्मेलनको आयोजना गर्दै रतनपूरी गोल्डकप फुटबल प्रतियोगिताको खेलतालिका सार्वजानिक गरेको छ । हेटौंडा फुटबल एकेडेमीको टिमले कार्तिक ३ गते निजगढ नगरपालिकाको न्यू हिमालयन युवा क्लबको टिमसँग प्रतिस्पर्धा गर्नुपर्ने एकेडेमीका अध्यक्ष तथा प्रशिक्षक भीम लामाले जानकारी गराएका छन् । निजगढ नगरपालिका ११ नम्बर वडा कार्यालयको प्रयोजमा हुने प्रतियोगितामा हेटौंडा फुटबल एकेडेमीसहित ११ वटा टिमहरुको सहभागिता रहने छ ।

प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको फाइनल खेल भने कार्तिक १० गते हुने प्रशिक्षक लामाले बताए ।

रातो समाचार संवाददाता
थप जानकारी