हेटौंडा । ७०औं प्रहरी दिवसको अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा विशेष समारोहका बीच विभिन्न विधामा उत्कृष्ट योगदान पुर्‍याउने प्रहरी कर्मचारीहरूलाई सम्मान गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीले कार्यालय व्यवस्थापन, अपराध अनुसन्धान, आन्तरिक तथा बाह्य प्रशिक्षण, सपोर्ट समूह लगायतका क्षेत्रमा उत्कृष्टता देखाउने प्रहरीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका छ्न् ।

पुरस्कार प्राप्त गर्नेमध्ये कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक (एसपी) सुमनकुमार तिम्सिना, वडा प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव उपरीक्षक (डीएसपी) अनमोल खड्का लगायत विभिन्न कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरू रहेका छन् ।
त्यसैगरी, ७०औं प्रहरी दिवस मूल समारोह समितिका अध्यक्ष प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गोबिन्द अधिकारीले कोशी प्रदेश प्रहरी गण विराटनगरका गणपति प्रहरी उपरीक्षक रुकेश तण्डुकार सहितका प्रहरीहरूलाई नगद पुरस्कारद्वारा सम्मान गरेका थिए ।
कार्यक्रममा सहभागी वक्ताहरूले प्रहरी दिवसले संगठनप्रति समर्पण, जिम्मेवारी र सेवाभाव थप सुदृढ हुने विश्वास व्यक्त गरेका थिए ।