हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाका पाँच विद्यालयलाई फुटबल खेलका सामाग्री हस्तान्तरण गरिएको छ । मंगलबार एक समारोहकोबीच चाइल्ड रिच नेपालको सहयोगमा गाउँपालिकामा अवस्थित ५ माध्यामिक विद्यालयलाई फुटबल खेलको सामाग्री हस्तान्तरण गरिएको हो ।

मंगलबार गाउँपालिकाको वडा नम्बर–३ मा अवस्थित भवानी माध्यामिक विद्यालयमा गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको उपस्थितीमा विद्यालयलाई सामाग्री हस्तान्तरण गरिएको थियो । विद्यालय स्तरबाटै फुटबल खेलकुदमा खेलाडीहरु उत्पादन हुने लक्ष्यले सामाग्री हस्तान्तरण गरिएको संस्थाका सहायक कार्यक्रम संयोजक पूजा रानामगरले जानकारी गराएकी छिन् ।

उनका अनुसार भवानी माविसँगै गाउँपालिका वडा नम्बर ६ मा रहेको व्यास माध्यामिक विद्यालय, वडा नम्बर २ मा रहेको कमलादेवी माध्यामिक विद्यालय, वडा नम्बर १० मा रहेको रत्नज्योति मावि र वडा ९ मा रहेको कालिका माविलाई खेलकुदका सामाग्री हस्तान्तरण गरिएको बताईन् । कैलाशका ५ वटा विद्यालय छनौंट गरी संस्थाको कार्य योजना अनुरुप सामाग्री प्रदान गरिएको उनले बताईन् ।

सबै विद्यालयलाई फुटबल खेलका ट्रेनिङ विप्स ३० वटा, ग्राउण्ड मार्कर ६० वटा, कोन २५ थान, ६ वटा फुटबल र ३० थान जर्सी हस्तान्तरण गरेका छौं, उनले भनिन् । विद्यालयबाटै खेलकुदको विकास होस् भन्ने हेतुले कार्यक्रम सञ्चालन गरेका हौं ।