हेटौंडा । जिल्ला प्रहरी कार्यालय पर्साले लामो समयदेखि फरार रहेका बैंकिङ कसुरका एक अभियुक्तलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ परेका व्यक्ति वीरगञ्ज महानगरपालिका–१६ बस्ने २३ वर्षीय अविन कुमार साह हुन्। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले शुक्रबार दिउँसो १२:३० बजे वीरगञ्ज–१६ ब्रम्हपुरबाट उनलाई पक्राउ गरेको हो।

साहमाथि बैंकिङ कसुर मुद्दा अन्तर्गत करिब रु. १ करोड १९ लाख ४० हजार १ रुपैयाँ (एक करोड उन्नाइस लाख चालिस हजार एक रुपैयाँ) ठगी गरेको अभियोग रहेको प्रहरीले जनाएको छ। उक्त मुद्दामा अदालतले उनलाई २ वर्ष कैद सजाय तोकेको थियो।
प्रहरी नायब उपरीक्षक तथा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता हरि बहादुर बस्नेतका अनुसार पक्राउ परेका साहलाई अदालतको आदेश अनुसार आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ।

बस्नेतका अनुसार फरार रहेका अभियुक्तलाई नियन्त्रणमा लिन विशेष सूचनाको प्रयोग गरिएको थियो। उनले भने, “लामो समयदेखि फरार रहेका व्यक्तिहरूमाथि निरन्तर खोजी कार्य जारी छ। पक्राउ परेकालाई कानूनी दायरामा ल्याएर प्रक्रिया अघि बढाइएको छ।” प्रहरीले फरार रहेका अन्य अभियुक्तहरूको पनि खोजी कार्यलाई तीव्र बनाएको जनाएको छ।

रातो समाचार संवाददाता
थप जानकारी