सरकारको अस्थिर प्रकृतिको नीतिका बाबजुद साढे चार वर्षमा १२ हजार विद्युतीय सवारीसाधन आयात भएका छन्।

पछिल्ला वर्षमा सर्वसाधारणको विद्युतीय गाडीतर्फ मोह बढ्दै आइरहेको छ। भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/७५ मा ५ हजार २ सय ३९ वटा विद्युतीय सवारीसाधान आयात भएका थिए। त्यसैगरी आर्थिक वर्ष २०७५/७६ मा यो संख्या ४ हजार ७ सय ४५ वटा रहेको थियो।

यी दुई आर्थिक वर्ष (२०७४/ ७५ र २०७५/७६) मा विद्युतीय सवारीसाधनको आयात बढे पनि पछिल्ला दुई वर्षमा भने आयात ओरालो लागेको छ। यसको मुख्य कारण सरकारले कर बढाउनु हो। पूर्वअर्थमन्त्री युवराज खतिवडाले विद्युतीय सवारीसाधनमा कर थपेसँगै आयात ह्वात्तै घटेको हो।

अघिल्ला आर्थिक वर्षहरूमा ४–५ हजारको संख्यामा विद्युतीय सवारीसाधन आयात भएकोमा खतिवडाले कर बढाएपछि सो संख्या ६ सयभन्दा तल झरेको थियो। भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ५ सय ७५ वटा मात्रै विद्युतीय सवारीसाधन आयात भएका थिए। यस्तै आर्थिक वर्ष २०७७/७८ मा विद्युतीय सवारीसाधनको आयात अझ घटेर २ सय ४९ वटामा सीमित भएको थियो।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत विद्युतीय सवारीसाधनको कर कटाएपछि आयात फेरि बढ्न सुरु गरेको छ। चालु आर्थिक वर्षको ६ महिनामा फेरि १ हजार १ सय ३ वटा विद्युतीय सवारीसाधन आयात भएका छन्।

चालु आर्थिक वर्षमा सरकारले विद्युतीय सवारीसाधनमा लाग्दै आइरहेको अन्तःशुल्क तथा भन्सार महसुल शुल्क कम गर्ने निर्णय गरेको थियो। अर्कोतर्फ सर्वसाधारणको रोजाइमा विद्युतीय गाडी पर्न थालेसँगै यसको आकर्षण पनि ह्वात्तै बढेको हो। अहिले विदेशी मुलुकको मागभन्दा नेपालमा विद्युतीय गाडीको माग अत्यधिक देखिन थालेको अटोमोबाइल व्यवसायीको भनाइ छ।

आर्थिक वर्ष २०७७/७८ मा तत्कालीन अर्थमन्त्री खतिवडाले विद्युतीय सवारीसाधनमा अत्यधिक मात्रामा कर लगाइदिएसँगै विद्युतीय सवारीसाधनको आयातमा अत्यधिक मात्रामा गिरावट आएको थियो।

तर तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत चालु आर्थिक वर्षको बजेटमा विद्युतीय सवारीसाधनमा लाग्दै आएको करको दायरा घटाएसँगै विद्युतीय सवारीसाधनको आयात झन्डै पाँचगुणाले बढेको छ। यो चालु आवको अन्त्यसम्म विद्युतीय सवारीसाधनको आयात विगतका वर्षहरूको तुलनामा अत्यधिक मात्राले बढ्ने संकेत देखिएको छ।

सिप्रदी टेडिङका म्यानेजर (टाटा मोटर्स) सावतजंग सिजापतिले कम्पनीले विद्युतीय गाडी भित्र्याएसँगै ग्राहकबाट राम्रो प्रतिक्रिया पाएको बताए। ‘विद्युतीय सवारीको बजारले उत्साह थप्ने काम गरेको छ। विद्युतीय सवारीका लागि पछिल्लो सात महिनामा नेपालमा निर्माण भएका चार्जिङ स्टेसन, सर्भिसिङ सेन्टरलगायत आवश्यक पूर्वाधार निर्माणले पनि बजारमा झनै उत्साह बढाएको हो,’ उनले भने, ‘कम्पनीले छोटो समयमै आठवटा ठाउँमा फास्ट चार्जिङ स्ेटसनको निर्माण गरिसकेको छ।

निकट भविष्यमा चार ठाउँमा थप्ने तयारी गरिरहेको छ।’ कम्पनीले ४० वर्षदेखि पेट्रोल र डिजेलबाट चल्ने गाडी आयात गर्दै आइरहे पनि पछिल्ला वर्षमा विद्युतीय गाडी पनि नेपाली बजारमा भित्र्याउँदै आइरहेको छ। सिप्रदी टेडिङले पछिल्लो समय विद्युतीय कार नेक्सन र टाटा टिगोर इभी बजारमा उपलब्ध गराउँदै आइरहेको छ।

कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका असिस्टेन्ट जनरल म्यानेजर (किया) मन्जितकुमार पोखरेलले अहिले कियाका विद्युतीय सवारीसाधन छिमेकी मुलुक भारतमा भन्दा पनि छिटो सप्लाई हुँदै आइरहेको बताए। ‘अहिले कियाका विद्युतीय कार भारतमा भन्दा पहिले नेपाली बजारमा उपलब्ध हुँदै आइरहेका छन्,’ उनले भने, ‘आयातमा रहेका समस्याका कारण विद्युतीय सवारीको हकमा सरकारले कम्तीमा १० वर्षे स्थिर नीति सार्वजनिक गर्न आवश्यक भइसकेको छ।’ उनले सरकारले स्थिर नीति बनाउँदा डिस्ट्रिब्युटरले कुनै पनि विश्वसनीय ब्रान्ड भिœयाउन सक्ने दाबी गरे।

साइमेक्स इनक प्रालिका म्यानेजिङ डाइरेक्टर (विवाइडी) यमुना श्रेष्ठले अबको गाडीको भविष्य नै विद्युतीय सवारीसाधनको भएकाले पनि समय सुहाउँदो गाडी भित्रिँदै आइरहेको बताइन्। ‘अबको टेक्नोलोजी भनेको विद्युतीय सवारी नै हो, विद्युतीय सवारीको प्रयोग गरेर लामो दूरीको समेत यात्रा गर्न सकिन्छ भन्दै पछिल्लो पाँच वर्षदेखि सरकारलाई झक्झक्याउँदै आएका थियो,’ उनले भनिन्, ‘अन्ततः अहिले हरेक मोटर आयातकर्ताहरूले विद्युतीय सवारी आयात गर्न थालिसकेका छन्।’

उनले स्वदेशमा उत्पादन भएको बिजुली खेर गइरहेकाले पनि विद्युतीय सवारीसाधनको प्रवद्र्धन गर्न आवश्यक भएको बताइन्। लक्ष्मी कन्टिनेन्टलका सेल्स म्यानेजर (हुन्डाई) दीपक थपलियाले विगतका तुलनामा नेपालमा विद्युतीय गाडीको स्वीकार्यता धेरै बढेको बताए। ‘विगतमा विद्युतीय गाडी भिœयाउन सुरुवाती चरणमा धेरै समस्या थियो।

पुरानाको कुरा सम्झिँदा विद्युतीय गाडी भन्नेबित्तिकै मान्छेले सफा टेप्पोसँग तुलना गरेर हेर्ने जमाना पनि थियो। विद्युतीय गाडीको पिकअप हुन्छ र? तान्छ र? भन्ने खालका पनि प्रश्न आउने गर्थे,’ उनले भने, ‘तर अहिले धेरै परिवर्तन आइसकेको छ। अहिले विभिन्न ब्रान्डका विद्युतीय गाडी आएसँगै विद्युतीय गाडी पनि राम्रो खालका पनि हुने रहेछन् भन्ने सोचको विकास भएको छ।’

उनले नेपाली ग्राहकको गोजीमा पैसा हुनेबित्तिकै पहिलोपटक बिजुलीबाट चल्ने कार खरिद गर्ने परिपाटीको पनि विकास भइसकेको दाबी गरे। ‘ग्राहकका तर्फबाट विद्युतीय गाडीमा अत्यधिक रूपमा रुचि देखिएको छ,’ उनले भने, ‘सरकार र व्यवसायीका तर्फबाट भने विद्युतीय गाडीको पूर्वाधार निर्माणको क्षेत्रमा भने निकै कम मात्रै देखिएको छ।’

यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो