कैलाली धनगढीका रामलाल जोशीको नयाँ कृति “बाआमा” भदौ १७ गते देखि पढ्न पाइने भएको छ ।
सुदूरपश्चिम परिवेशका सीमान्त समुदायका कथा बनाउँदै आइरहेका २०७२ सालमा प्रकाशित पहिलो कथासंग्रह ‘ऐना’ का लेखक मदन पुरस्कार विजेता जोशीको कृति बाआमा भदौ १७ गते विमोचन हुने हो।
साहित्य साधनाका आख्यानकार जोशीले सुदूरपश्चिम परिवेशका सीमान्त समुदायका बास्तविकता छर्लङ्ग पारेर सिर्जनाले पस्किरहेका छन् ।

कृति प्रकाशनकालागि समर्थन गरेको नेपालको एक प्रतिष्ठित प्रकाशन गृह बुकहिलका अध्यक्ष भुपेन्द्र खड्काले पनि लेखको लेखकको बारेमा यर्थाथ बयान गरेका छन् ।
अध्यक्ष मात्रै नभएर गीतकार, कवि, लेखक, साहित्यका धरोहर भुपेन्द्र खड्काले लेखकलाई पात्र बनाएर आफ्नो फेशवुकमा  लेखेका छन् ।

‘ऐनामा बाआमा’को अनुहार देखाइरहेका रामलाल !

त्यसअघि मैले उनलाई चिन्दिनथेँ । जुनेली उपन्यासको बुकटुरमा धनगढी पुग्दा उनी काठमाडौँका पुस्तक प्रकाशकहरूको दैलोमा ‘ऐना’ देखाइरहेका थिए । उनको ‘ऐना’ प्रकाशित भैसक्दा पनि मैले उनको किताबको गातासमेत देखेको थिइनँ । ०७३ सालको असारमा जब मदनपुरस्कार २०७२ का लागि सङ्क्षिप्त सूची सार्वजनिक भयो; त्यसपछि उनी एकाएक चर्चामा आए । चौतर्फी उनकै किताबको बढी चर्चा सुनिन थाल्यो । र, पनि मैले त्यति वास्ता गरेको थिइनँ; कारण उनी आफ्नै लगानीमा किताब निकाल्न अभिशप्त पारिएका लेखक थिए ।

मपुको सो सूचीपछि कतिपय प्रकाशक उनको घर धनगढी पुगेर पुनर्मुद्रणका लागि पैसाको बिटो दिन तयार भएका थिए । एक दिन कसोकसो कुन संयोगले हाम्रो मोबाइलमा कुरा भयो । उनी अर्को कुनै नामी प्रकाशन गृहबाट पुस्तक पुनर्प्रकाशन गर्ने/नगर्ने प्रतिक्रिया कुरेर बसेका रहेछन् । त्यतिबेला बुकहिलको गतिलो अफिस पनि बनिसकेको थिएन । मलाई त धेरैले ‘यो कवि/गीतकार हो, भावुक छ; यसले किताब प्रकाशन गरेर खान्नँ; २-४ वर्षमा यसको पब्लिकेसन बन्द हुन्छ’ भन्थे । तर मेरो स्वभाव कमैलाई मात्रै थाहा छ, आफूले शुरु गरेको काम जसरी भए पनि सफल बनाई छाड्ने, सबै प्रकारका वाधा-अड्चनसँग जुध्ने; दीर्घकालमा जित्ने !

कुरैकुरामा रामलाल मलाई भेट्न डिल्लीबजारस्थित उमेश/राजु काफ्लेको ‘ले-आउट डिजाइन’ अफिसमा आइपुगे । हातमा हरियो रङ्गको ‘ऐना’ बोकेर आएका उनीसँग कुरा भयो ।उनकै अघि बसेर मम र कफी खाँदै मैले भूमिका र दुइटा कथा पढेँ । मलाई उनका कथाले छोयो । मेरो कुराले खुशी भए; मलाई पुनर्प्रकाशनको जिम्मा दिएपछि प्रतिक्रिया कुरेर बसेका प्रकाशकका मान्छेलाई फोन गरे र आफ्नो कुरा भने ।

पुनर्मुद्रणका लागि सबै सामग्री दिए । उमेश र सुवर्ण हुमागाईँ मिलेर ले-आउट/डिजाइन गरे । मैले आवरण परिवर्तनको लागि अमेरिकी फोटो ग्राफरको तस्वीर १२५ डलरमा किनेँ । ‘ऐना’ टलक्क टल्कियो । किताबको नयाँ संस्करण बजारमा आएपछि यही नयाँ कभरका कारण किताबले मपु नपाउने हल्ला चलाएपछि रामलाल निकै चिन्तित पनि भए ।

दूरदराजबाट एकाएक निस्किएको प्रतिभाको त्यो छटपटी स्वभाविक पनि थियो ।

जब मदनपुरस्कारको घोषणा भयो; त्यतिबेला म हामीले पुस्तक पुन: प्रकाशन गर्नलाई सम्झौता गरेको टेबुलअघि कुर्सीमा बसिरहेको थिएँ । सो पुरस्कार घोषणा हुँदा हामीले छापेको किताब १ हजार प्रति मात्रै बाँकी थियो । त्यो १ हजार प्रति किताब १ घण्टामा बिक्यो ।

त्यसपछि त्यो किताब आजसम्म पनि निरन्तर छापिइरहेको छ । त्यसपछि उनको अर्को किताब, पहिलो उपन्यास ‘सखी’ प्रकाशन भयो । ‘ऐना’को तुलनामा कम बिक्री भए पनि त्यो किताब पनि बेस्टसेलर हो ।

गत वर्षको ‘धनगढी साहित्य महोत्सव’मा आफूले पाएको लेखस्व/रोयल्टीको कथा मन्चबाट सगर्व सुनाएका थिए उनले । उनी बुकहिलबाट सर्वाधिक रोयल्टी प्राप्त गर्ने लेखकको सूचीका लेखक पनि हुन् ।

लेखनकै लागि शिक्षण पेशा र लोभलाग्दो राजनीतिक जीवन त्यागेका रामलालले हालेको एउटा जग पनि बुकहिलको खम्बामा छ । जतिबेला नयाँ प्रकाशकको रूपमा हामीलाई कुनै स्वनामधन्य लेखकले विश्वास गर्दैनथे; त्यतिबेला रामलालले विश्वासिलो हात दिएका थिए । आज संचार माध्यममा स्थापित प्रकाशकहरूले नयाँ लेखकहरूलाई स्थान दिँदैनन् भन्ने समाचार पढ्न पाइन्छ तर स्थापित ब्रान्ड बनाउन ती संस्थाले गरेको योगदान कसैलाई थाहा हुँदैन । स्वीकारे पनि; नस्वीकारे पनि ; मुद्रण, सहज बजारीकरण हुन नसक्नु, वितरकबाट पैसा उठाउन अनेक यन्त्रणा गर्नुपर्ने तर कतिपय लेखकलाई ‘एडभान्स रोयल्टी वा प्री-पूर्ण भुक्तान’ गर्नुपर्ने अनि हरेक पुस्तकको प्री-प्रेस, सम्पादन र मुद्रणलगायतका कामका लागि फेरि ॠण खोज्नुपर्ने आजका मेरा समकालीन सबै प्रकाशकका साझा समस्या हुन् ।

हामीसँग जोडिएका अन्य लेखकका कथा लेख्दै/भन्दै गरौंला ।

आज उनै रामलालको नयाँ किताब ‘बाआमा’को कुरा गरौं । यसको पाण्डुलिपि गत वर्षको भदौमा दिल्लीमा बसेर पढेको थिएँ र कथाको प्रभावले नराम्ररी बिथोलिएँ पनि । करिब हप्तादिनजति मेरा आँखा रसाए । चिटिक्कको सम्पादनसहित सृजनात्मक १२ कथा र उपकथाहरूको आख्यान भदौमा बजारमा आउँदै छ । संयोग, यतिबेला म दिल्लीकै कुनै आरामगृहमा पल्टिरहेको छु र रामलालको कथा लेखिरहेको छु । किताब प्रकाशनपछिका प्रतिक्रिया पाठकका बुझाइ र मर्जीका हुन् । यतिबेला म आफैँ उनको किताबको प्रकाशक भएर उनको प्रशंसा गरिरहेको छैन । यो किताबको शुद्धीकरणपछि ती भाइले मलाई भनेका थिए, “दाइ, म पनि साहित्यको पारखी; धेरैपछि वास्तविक साहित्य पढ्ने सुअवसर प्राप्त गरेँ ।”

र, म गङ्गा नदीको किनारमा उभिएर सगर्व भन्न सक्छु; “रामलाल जोशीको ‘ऐना’ले एउटा मपु पायो; ‘बाआमा’ हजारौँ मपु पाइरहने कालजयी किताब बन्नेछ

विमोचनमा भेटौँला !

 

मदन पुरस्कार विजेता “ऐना” लेखक जोशीको “बाआमा” भदौ १७मा विमोचन हुंदै

 

जोशीको नयाँ कृति “बाआमा” उमेरले किनारीकृत बनाएकाहरूको कथा