पश्चिम सुर्खेतको बराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिका जोड्ने बड्डीचौर–खम्बागाडे सडकको शिलान्यास गरिएको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, पूर्वाधार विकास निर्देशनालय सुर्खेतअन्तर्गत बड्डीचौर–विभ्रेनी–बाबियाचौर विद्यापुर सडकखण्डमा बन्ने उक्त सडकको शिलान्यास कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले आज गर्नुभएको हो ।

सो अवसरमा सामाजिक विकासमन्त्री बुढाक्षेत्रीले सडक निर्माण, कालोपत्रसहित जिम्मा लिएको अनक–जयदेवी जेभी बाँकेलाई समयमै काम सम्पन्न गर्न निर्देशन दिनुभयो । उक्त सडक निर्माणले सुर्खेतको कर्णाली उपनामले चिनिएको पश्चिम क्षेत्रका नागरिकलाई राजधानी वीरेन्द्रनगरसँग जोड्न सहज हुने उहाँले बताउनुभयो । उक्त जेभीका प्रोप्राइटर दिकपाल शाहीले प्रदेश सरकारको रु ४२ करोड ४० लाख लगानीमा सडक निर्माण गरिने बताउनुभयो । गत असार १४ गते सडक निर्माणको सम्झौता गरेर विसं २०८१ असार २४ गते सम्पन्न गर्ने लक्ष्य लिएर काम सुरु गरिएको उहाँले बताउनुभयो ।

“हामी अब एक÷दुई दिनमै निर्माण सर्भे गर्छौं । तत्पश्चात् सडक खन्ने काम सुरु हुन्छ”, प्रोप्राइटर शाहीले भन्नुभयो, “यो दुई वर्षभित्रै १२ मिटरको सडक खन्ने, ग्राभेल गर्ने र सात मिटरमा कालोपत्र गर्ने काम हुन्छ ।” सडक निर्माण कार्यमा स्थानीय तह, प्रदेश सरकार, नागरिक समाज र पत्रकारको साथ सहयोग पाए तोकिएको मितिभन्दा अगावै काम सम्पन्न हुने उहाँको भनाइ छ ।
रासस

फाइल तस्विर